काँग्रेस नेता गिरीलाई “कमरेड” भन्दै घनश्याम भुसालले सधैँ सम्झिरहने
नेकपा एमालेका नेता तथा बौध्दिक व्यक्तित्व घनश्याम भुसालले गए राती दिवङ्गत हुनुभएका काँग्रेस नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरीलाई आफूले सधैँ सम्झिरहने बताउनु भएको छ।
स्वर्गीय नेता गिरीलाई श्रध्दाञ्जली व्यक्त गर्दै भुसालले भन्नुभएको छ, ‘हाम्रो समयको अविश्रान्त समाजवादी कमरेड प्रदीप गिरी,हाम्रो यात्राभरि तपाईँलाई सम्झिरहने छौँ !’
कम्युनिष्ट नेताले काँग्रेस नेतालाई “कमरेड” शब्दले सम्बोधन गर्दै गर्दा स्वर्गीय नेता गिरी सबैको आदर्शको पात्र हुनुहुन्थ्यो भन्ने पुष्टि भएको छ। काँग्रेसबाट राजनीति गरेता पनि स्वर्गीय गिरी मार्क्सवादी दर्शनका ज्ञाता हुनुहुन्थ्यो ।
अध्ययनमा असाध्यै रुचि राख्ने गिरीले कम्युनिष्टहरूले आदर्शका रूपमा मान्दै आएका पात्रहरू मार्क्स,एंगेल्स,लेनिनले विश्व कम्युनिष्ट आन्दोलनको बारेमा खेलेका राम्रा नराम्रा भूमिकाको बारेमा खरो विश्लेषण गर्ने गर्नुहुन्थ्यो ।
उहाँले भन्ने गर्नु भएको दर्शनका विषयलाई लिएर गिरीलाई कम्युनिष्ट नेताको रूपमा बुझ्ने पनि धेरै छन्।उहाँ काँग्रेसको नेता भए पनि नेपालका धेरै कम्युनिष्ट नेताहरूको लागि आदर्श विश्वविद्यालयजस्तै हुनुहुन्थ्यो।
बाँचुन्जेल कसैलाई कुनै पनि विषयमा अराजनैतिक टिका टिप्पणी नगर्नु भएको कारण पनि उहाँ न कुनै विवादमा पर्नु भएन । यसकारण पनि कम्युनिष्ट पार्टीका नेताहरूले समेत उहाँलाई बौध्दिक तथा समालोचकको रूपमा लिँदै “कमरेड” शब्दद्वारा सम्मान गरिरहेका छन्।
क्यान्सरजस्तो घातक रोगसँग हार्न पुग्नु भएका गिरीको गए राती मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।
टिप्पणीहरू