समातिने गोल्ड मेडलिष्ट, खुवाउने लौडा
स्रोत नखुलेको रकमसहित पक्राउ परेका उपसचिवमाथि छानबिन हुँदै जाँदा वर्षौं पुरानो लाउडा काण्डदेखि लफडा चल्दै आएको भवन भट्टसम्मका प्रकरण उदाङ्गो हुने भएको छ ।
अख्तियारको टोलीले पर्यटन मन्त्रालय, नागरिक उड्डयन महाशाखाका उपसचिव प्रमोद नेपाललाई साउन १७ गते नक्शालको होटलबाट समात्यो, साढे ६ लाखसहित । त्यहीं उनैको गाडीबाटै फेरि फेला प¥यो, अर्को १६ लाख रुपैयाँ । पछिल्लो रकम कहाँबाट आयो ? यो प्रश्नको जवाफसँगै लाउडादेखि बिबि एयरवेजसम्मका बद्मासी छताछुल्ल हुने स्थिति बनेको हो । उनले उक्त रकम ‘सापटीस्वरुप’ हरिभक्त श्रेष्ठसँग लिएको बयान दिएका छन् ।
हरिभक्त उनै व्यक्ति हुन्, जो लामो समय नेपाल वायुसेवा निगमको महाप्रबन्धक र नागरिक उड्डयन प्राधिकरणको हाकिम रही हाल भवन भट्टको बिबि एयरवेजमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) छन् । प्रमोदले हरिभक्तसँग सापटी लिएको बयान अख्यिारका अनुसन्धानकर्मीले पत्याएका छैनन् । तर, उनले त्यत्तिका रकम किन लिए भन्ने प्रश्न भने चर्कोसँग उठेको छ । अनुमान छ– नयाँ आर्थिक वर्षका लागि विमान कम्पनी नवीकरण गर्न घुस लिइएको हो ।
प्रमोद पक्राउ परेकै अघिल्लो हप्ता अवकास पाएका पर्यटन सचिव महेश्वर न्यौपाने र नागरिक उड्डयन महाशाखाका सहसचिव बुद्धिसागर लामिछानेले अह्राएर उनले बिबि एयरसँग रकम लिएको अनुमान छ । यद्यपि, बयानमा उनले यी नाम पोलेका छैनन् । बरामद भएको रकमबारे पनि इन्कारी बयान छ ।
उनलाई ‘सापटी दिने’ भनिएका हरिभक्त सुजाता कोइराला संलग्न वर्षौं पुरानो लाउडा एयर प्रकरणमा मुछिएर अहिले पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएका पात्र हुन् । त्रिपुरेश्वरमा पुरानो घर छ, पछि कालिमाटी सरे, अहिले बूढानीलकण्ठ बस्छन् । उनी सिइओ रहेको बिबि एयर र त्यसका मालिक भवनले वायुसेवा निगमको ‘अल्फा चार्ली अल्फा’ कल साइन भएको बोइङ ७५७ किनेका थिए ।
तर, जहाज चलाएनन्, बरु पार्टपुर्जा बेचेर खर्च चलाए । त्यसपछि नयाँ एयरबस किन्ने भाउन्नमा लागे । नेवानिसँग किनेको बोइङको पार्टपुर्जा अमेरिकन कम्पनीलाई बेचे । त्यसअघि ‘टोनले साप’ नामक कम्पनीबाट ७५७ सिरिजकै बोइङ ल्याएर दुई–तीन महिना चलाए । पछि त्यो पनि चलाउन सकेनन् । किनेको बोइङको बोक्रा अहिले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पारिपट्टी छ । पार्किङबापतको ६५ लाख तिरेको छ कि छैन भन्ने कुराको पनि छानबिन हुँदैछ ।
राजदरबारको पूर्वी गेटमा बिबि एयरवेजको अफिस छ । अहिले फेरि सिनामंगलस्थित किशोरकुमारको सेकुवासँगै नयाँ भवनमा अर्को अफिस लिएका छन् । रातारात धनी बन्ने ध्याउन्नमा उनले भएजति सम्पत्ति सिध्याएर अहिले ओशोभक्त भएका छन् । भर्खरै प्रचण्ड जापान पुग्नुहुँदा स्वागत गर्न त्यतै गएका थिए । अहिले उनी ओशोभक्त भएको भक्तिका लागि हैन, विदेशबाट पैसा ल्याएर देशभरि ओशो ध्यानगृह सञ्चालन गर्ने नियतसहित हो भनिँदैछ । उनी बस्ने घर सीतापाइलास्थित कम्फोर्ट हाउजिङअगाडि थियो । त्यो पनि पृथ्वीबहादुर पाँडेहरूको छायाँ सेन्टरलाई ४० करोडमा बेचेको चर्चा छ ।
टिप्पणीहरू