देउवा स्वयंका कैयन् दुःख

देउवा स्वयंका कैयन् दुःख

जब–जब शेरबहादुर देउवा शक्तिमा आउनुहुन्छ, तब–तब सुरक्षा निकायलाई गिजोल्ने गरिन्छ । ०४८ मा गृहमन्त्री हुँदा मोतीलाल बोहोराका लागि रत्नसमशेर राणामाथि अन्यायदेखि अहिले पाँचौंपटक प्रधानमन्त्री हुँदाको अत्याचारको फेहरिस्त निकै लामो छ ।

उहाँका स्वकीय सचिव भानु देउवाको ज्वाइँ परेकै कारण अघिल्लो वरियताका थुप्रै एसपीलाई पन्छाउँदै अघिल्लो महिना दीपेन्द्र कुँवर सशस्त्रको एसएसपीमा बढुवा भए, अब छिट्टै डिआइजी बन्दै छन् । यो बढुवा नसेलाउँदै भर्खरै राष्ट्रिय अनुसन्धान विभागमा एआइजीको दरबन्दी सुपक्षेका निम्ति थपिएको छ ।

नेपालका सुरक्षाकर्मीलाई कति हैरान छ भने, ओली प्रधानमन्त्री हुँदा झापाली र पूर्वेलीको कल्याण हुने, शेरबहादुर आउँदा सुदूरपश्चिमकाले मात्रै स्वाद लिने ! बर्दीधारीहरू प्रश्न गर्दै छन्, ‘देशलाई चाहिँ कसले हेर्ने ?’

जसरी ०७४ को चुनावी मुखैमा प्रहरीको आइजीका निम्ति नवराज सिलवाल र जयबहादुर चन्दलाई भिडाउँदा देउवा मात्र हैन, सिंगो कांग्रेस पार्टी बद्नाम भयो । यसचोटि पनि चुनावकै मुखमा त्यस्तो खेल भएको छ । अनि, उहाँ नै हो– ०७४ मा सशस्त्र एआइजीको दरबन्दी १५ पु¥याएर पदलाई सस्तो बनाउने पनि ।

यद्यपि, त्यो निर्णयलाई उहाँपछिको ओली सरकारले कार्यान्वयन गरेन । दार्चुलास्थित सशस्त्रको ४४ नं. गणमा कार्यरत कामु वरिष्ठ हवल्दार नरेशसिंह साहुले गणपति त्रिभुवन विष्टले रासनमा गरेको अनियमितताबारे खुलासा गरे । कारबाही हुनुपथ्र्यो एसपीमाथि । तर, हवल्दारलाई जेल पठाइयो । कारण थियो, आरोपित एसपी बिष्ट देउवाका खास मान्छे हुनु ।

यसरी, ‘रकेट बढुवा’ खाएका दीपेन्द्र कुँवरले फुली त लगाए । तर, उनलाई बढुवा दिलाउनेहरुले जनताको विश्वास जित्न सक्दैनन् । हिजो प्रहरीमा विश्वराजले खाएको रकेट बढुवाको हविगत के भयो ? मुद्दामा जाँदा तीन महिना रिंग्याएर अन्तिममा रिटै खारेजीमा परेको हैन † शेरबहादुर देउवाले डडेल्धुराबाट चुनाव जित्नुहोला । पार्टी सभापति, संसदीय दलको नेताका रुपमा फेरि प्रधानमन्त्री पनि बन्नुहोला । तर, देशभरिका जनतामा सधैँ पत्यारिला बनिरहन गाह्रो छ ।

यता, काठमाडौंको विभिन्न युनिट कमाण्ड गरेका सशस्त्रका हाकिमहरु एआइजी सीपी गौतमसँग हैरान छन् । सीमा सुरक्षा र अपरेशन कमाण्डर रहेका उनले उपत्यकाका बाहिनी, गण र गुल्मपतिलाई थर्काइरहेका छन् । उपत्यका बाहिनीपति डिआइजी वंशी दाहाल छन् । उनी रोजी–रोजी पोष्टिङ खाने अर्का भाग्यमानी हुन् । रोजेर पोखरा, लुम्बिनी र त्यसपछि प्रदेश १ अनि अहिले फेरि उपत्यका बाहिनीमा आइपुगेका छन् ।

चोलेन्द्र प्रधानन्यायाधीश भइरहेको भए अहिले आइजीका दावेदार हुन्थे । यही हिसाब लगाएरै चोलेन्द्रको बेञ्चमा पारी प्रविण श्रेष्ठलाई घर पठाइएको हो । बलम्बुस्थित नीलबाराही गणमा रहँदा महिलासँग जोडिएको एउटा घटनामा मुछिए । गणमा बोलाइएका महिलालाई हातपात गर्न लागेपछि उनी भागिन् । बाहिनीपति महावीर गुरुङ थिए ।

उनले वास्ता नगरेपछि पीडितहरू आइजिपी कोषराज वन्तकहाँ पुगे । दाहाल ठाकुरमोहनका मान्छे भन्ने वन्तको बुझाइ थियो । यसर्थ कारबाही गरे । वन्तपछिका आइजिपी शैलेन्द्र श्रेष्ठले घर जाने बेला बल्ल कारबाही फुकुवा गरेका हुन् । वंशी चोलेन्द्रको नाता पर्छन् । पत्नी कालिकास्थानस्थित राणाकी छोरी ।

टिप्पणीहरू