“कुमारी आमा” को मुध्दामा पर्सि पेशी,उल्टेला त जिल्लाको फैसला ?

“कुमारी आमा” को मुध्दामा पर्सि पेशी,उल्टेला त जिल्लाको फैसला ?

कुमारी आमा निहारिका राजपुत ‘सोनाली’ले ‘प्रेमी’ शिवराज श्रेष्ठविरुद्ध उच्च अदालत जनकपुरमा दायर गरेको बलात्कार मुद्धाको सुनुवाइका लागि पर्सि पेशी चढ्ने सम्भावना छ । लामो समयदेखि विचाराधीन मुद्धा तत्काल टुंगोमा पुर्याउने गरी ८ गतेका लागि पेशी तोक्ने तयारी भएको बताइन्छ ।

दोषीलाई उन्मुक्ति दिनका लागि उच्च अदालतले मुद्धा लम्ब्याउन चाहेको निहारिकाले ठाडो आरोप लगाएको र यसमा सरकारको समेत ध्यानाकर्षण भएपछि अदालत प्रशासनले मुद्धा छिटो पेशी चढाउने तयारी गरेको जानकार स्रोतले बताएको छ । यसअघि जिल्ला अदालत धनुषाले शिवराजको पक्षमा फैसला गरेपछि निहारिका पुनरावेदनका लागि उच्च अदालत जनकपुर गएकी थिइन् ।

तर,जिल्लाले जस्तै दोषीलाई उन्मुक्ति दिन लामो समयसम्म मुद्धाको पेशी नतोकिएको भन्दै अहिले उनी १७ दिनदेखि जारी अनसन तोड्न हिजो बेलुकी बल्ल राजी भएकी छन् । बलात्कारीलाई कारबाही र दुई वर्षे छोराको डीएनए परीक्षणको माग राख्दै आएकी उनले गत साता राष्ट्रपति निवास अगाडि आत्मदाहको प्रयास गरेपछि यो घटनाले सबैको ध्यान तानेको छ । प्रधानमन्त्री, राष्ट्रपति र कानुनमन्त्रीले समेत यो घटनामा विशेष चासो राखेका छन् । साथै शिवराज श्रेष्ठको पक्षमा फैसला गर्ने जिल्ला न्यायाधीश पर्शुराम भट्टराईमाथि न्याय परिषदले छानबिन गरिरहेको छ ।

साउन २० गतेदेखि दोस्रो पटक अनशन बसेकी उनलाई कानुनमन्त्री गोविन्द बन्दीले भेटेर न्याय दिलाउने आश्वसन दिँदै हिजो अनशन तोडाउनु भएको छ । साथै,जिल्ला प्रशासन कार्यालय काठमाडौँ र निहारिकाबीच ३ बुँदे लिखित सहमति पनि भएको छ । वकिल राखेर गरिएको सहमति पत्रमा निहारिकाको अनुरोध र मागबमोजिम डिएनए परीक्षण गर्न उच्च अदालत जनकपुरसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने र डिएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने उल्लेख छ ।

‘बच्चा छ तर विवाह गरेको छैन । लोग्ने-स्वास्नेको सम्बन्धको कुरा पनि छैन । सात महिना संगै बसेको फोटो पनि छ । अनि करणी कसरी भन्ने ?’, यो मुद्दा केही कम्लिकेटेड हुनुको कारण उल्लेख गर्दै एक सरकारी अधिकारीले बताए ।

महोत्तरीको जलेश्वर नगरपालिका–८ की २१ वर्षीय निहारिकाले ०७६ कात्तिक ६ गते साँझ २२ वर्षीय शिवराज श्रेष्ठले ललाइफकाई बन्धक बनाएर बलात्कार गरेको व्यहोरा उल्लेख गर्दै ०७६ फागुन १९ गते जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराएकी थिइन् । जाहेरी दर्ता भएको २ वर्षपछि ०७८ माघ २४ गते जिल्ला अदालतले उनी बलात्कृत नभएको फैसला सुनायो । फैसलापछि पुर्पक्षका लागि जेलमा रहेका शिवराज छुटे । त्यसयता निहारिका धनुषादेखि काठमाडौँका गल्ली-गल्लीमा २१ महिने छोरो च्यापेर न्यायको खोजीमा हिंडिरहेकी छन् ।

त्यसो त, शिवराज र निहारिका सहमतिमै लिभिङ टुगेदरमा बसेको दावी गर्दै विभिन्न तथ्य प्रमाण पनि सार्वजनिक गरिएका छन् । करिब सात महिना लिभिङ्ग टुगेदरमा बसेकी निहारिका गर्भवती भएको तर शिवराजले गर्भ फ्याँक्न दबाब दिएपछि उनीहरुको सम्बन्ध बिग्रिएको देखिन्छ । सम्बन्ध बिग्रिदै जाँदा शिवराजविरुद्ध निहारिकाले बलात्कारको जाहेरी दिएकी हुन् । तर, अदालतले दुबैजना एडल्ट (परिपक्व) भएको र सहमतिमै शारीरिक सम्बन्ध राखेको देखिएकाले बलात्कार ठहर नहुने फैसला गरिदियो । त्यसैले जिल्ला न्यायाधीशको यो फैसलालाई कतिपय कानुनकर्मीहरुले गलत भन्न नमिल्ने दावी गरेका छन् ।

‘बच्चा छ तर विवाह गरेको छैन । लोग्ने-स्वास्नीको सम्बन्धको कुरा पनि छैन । सात महिनासंगै बसेको फोटो छ । अनि करणी कसरी भन्ने ?’, यो मुद्दा केही कम्लिकेटेड हुनुको कारण उल्लेख गर्दै एक सरकारी अधिकारीले भने । हुन त श्रीमान-श्रीमतीबीच पनि असहमतिमा हुने शारीरिक सम्बन्धलाई कानुनले बलात्कार मानेको छ । तर, निहारिकाको हकमा सोअनुसारको मागदावी नभएकाले पनि जिल्ला न्यायाधीशको फैसलालाई पूरै गलत भन्न नसकिने कानुनका जानकारहरुको दलिल रहँदै आएको छ ।

यता,प्रेमिका बलात्कारको आरोप लागेका शिवराज प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा समातिएका छन् । बलात्कार मुद्धामा अदालतबाट क्लिनचिट पाएर जेलमुक्त भएका उनी आफ्नै कारण अर्को झमेलामा फस्दा फेरि थुनामा पुगेका हुन् । अभद्र व्यवहार कसूरमा समातिएका उनलाई कानुनबमोजिम बढीमा २५ दिन थुनामा राखेर अदालत बुझाउने प्रहरीको तयारी छ ।

यसअघि नै आरोप स्वीकार नगरेका श्रेष्ठले प्रहरीसामु अहिले पनि ‘आफूले केही नगरेको’ भनिरहेका छन् । यद्यपि डिएनए परीक्षणले पुष्टि गरे बच्चा स्याहार्न आफू तयार रहेको उनले बताएका छन् । उनी आफ्नो ठाउँमा चिया पसल गरेर गुजारा चलाउदै आएको गरिव परिवारका सन्तान हुन् ।

टिप्पणीहरू