शाही हत्या प्रकरणः तीन दिनभित्र सम्झौता कार्यान्वयन नभए तालाबन्दी

शाही हत्या प्रकरणः तीन दिनभित्र सम्झौता कार्यान्वयन नभए तालाबन्दी

अछामका विनोद शाहीको हत्यामा संलग्न रहेको आरोप लगाउँदै पाँच राजनीतिक दल र संघर्ष समितिले पञ्चदेवल विनायक नगरपालिका मेयर अम्बिका चलाउने सहभागी हुने सार्वजनिक कार्यक्रम बहिस्कार गर्ने भएका छन् ।

एमालेका नगर इञ्चार्ज भीमबहादुर बिष्ट, माओवादी केन्द्रका उपसचिव हरिप्रसाद तिमिल्सिना,एकीकृत समाजवादीका सह-इञ्चार्ज केशव शाही,विप्लव नेतृत्वको नेकपाका इञ्चार्ज सर्जन धामी,राप्रपा नेपालका नगर अध्यक्ष रणबहादुर शाही र स्व. विनोद शाही संघर्ष समितिका संयोजक रमेश शाहीले संयुक्त विज्ञप्ति जारी गर्दै मेयर सहभागी हुने सार्वजनिक कार्यक्रमहरु बहिस्कार गर्ने बताएका हुन् ।

उनीहरुले तीन दिनभित्र पीडित पक्षसँग भएका सम्झौता पूर्णरुपमा कार्यान्वयन नगरिए अनिश्चितकालका लागि नगरपालिका कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।

असारे योजनाहरुको रकम भुक्तानी र नगरसभाबाट बजेट पारित गर्नका लागि यसअघिका आन्दोलनहरु फिर्ता लिएको स्मरण गराउँदै उनीहरुले स्थानीय तह बजेटको नीति तथा कार्यक्रम हालसम्म पनि पारित हुन नसकेको बताए । मेयर चलाउने करिब एक महिना फरार भएर राज्यका शक्ति केन्द्रसँग सेटिंग मिलाई प्रहरीमा उपस्थित भएको उनीहरूको आरोप छ ।

आगामी भदौ १५ गते नगरसभा बैठक बोलाइएको बताउँदै उनीहरुले भने, ‘नगरसभा गर्नको लागि अहिलेसम्म सिन्को भाँचिएको छैन । जनप्रतिनिधिहरुको आवश्यकता पूर्ति गर्न नगरसभा बस्न लागेको हो ।”जेठ १७ गतेदेखि बेपत्ता पञ्चदेवल विनायक नगरपालिका-४ कालिकास्थानका १६ वर्षीय विनोद शाही २२ गते गाउँ नजिकैको भीरमा मृत भेटिएका थिए । हत्या भएको भन्दै परिवारले दिएको किटानी जाहेरीका आधारमा नगर प्रमुख चलाउनेसहितलाई प्रहरीले पक्राउ गरेको थियो । तर,घटनामा कुनै संलग्नता नरहेको दावी गर्दै प्रहरीले छाडेको थियो ।

टिप्पणीहरू