स्थानीयद्वारा विप्लवका बन्दकर्तामाथि निर्घात कुटपिट
काभ्रेको बनेपामा बन्द गराउँदै हिँडेका बन्दकर्तालाई स्थानीयले कुटपिट गरेका छन् । आज बिहान बनेपाको चारकुनेमा सार्वजनिक बसमा ढुंगा प्रहार गरेपछि उनलाई चालक र सहचालकसहित स्थानीयले कुटपिट गरेका हुन् । काभ्रेका डिएसपी ढुण्डीराज न्यौपानेले बन्द गर्दै हिँडेका नरहरिनाथ नगरपालिका, कालिकोटका २४ वर्षीय राउतलाई गाडीका स्टाफ र स्थानीयले कुटपिट गरेको बताए । उनका अनुसार हाल राउत प्रहरी नियन्त्रणमा छन् ।
ती युवक नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भएको बताइन्छ । स्थानीयहरुले कुटपिट गर्दा उनले लगाएको लुगासमेत च्यातिएको छ । डिएसपी न्यौपानेले उनी समान्य घाइते भएको बताए ।
‘बन्दकर्तामाथि कुटपिट भएको सूचना पाएसँगै हामी घटनास्थल पुगेका हौँ,” उनले भने,‘हामीले ती बन्दकर्तालाई नियन्त्रणमा समेत लिइसकेका छौँ । उहाँ अहिले हाम्रो निगरानीमा हुनुहुन्छ ।” हालसम्म जिल्लाका विभिन्न ठाउँमा बन्द गर्दै हिँडेका आठ जना बन्दकर्तालाई पक्राउ गरिएको उनले जानकारी दिए ।
आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी,आहुति नेतृृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले नेपाल बन्दको आह्वान गरेका हुन् ।
टिप्पणीहरू