कमल थापाका कार्यकर्ताद्वारा काठमाडौँमा चन्दा आतंक

कमल थापाका कार्यकर्ताद्वारा काठमाडौँमा चन्दा आतंक

प्रतिवन्धकालीन विप्लव समूहलाई समेत माथ खुवाउने गरी पूर्वपन्चहरुको पार्टी राप्रपा नेपालका कार्यकर्ताले काठमाडौँमा चन्दा आतंक मच्चाइरहेको पाइएको छ । कमल थापा नेतृत्वको राप्रपा नेपालनिकट विद्यार्थीहरुले विभिन्न व्यक्ति,स्वदेशी तथा विदेशी कम्पनीहरुलाई पत्र काटेर जवर्जस्ती लाखौँ रकम मागेको खुलासा भएको हो ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका नामबाट पत्र पठाएर उनीहरुले मागेजति रकम नदिए ‘सिध्याइदिने’ धम्की दिएको भन्दै पीडितहरु हारगुहार गरी प्रहरीमा समेत पुगेको बताइन्छ । जनआस्थाको सम्पर्कमा आएका एक पीडितले पैसा मागेर कमल थापाका कार्यकर्ताले हैरान पारेको बताए । पत्र लिएर घरमै आएका दुई युवाले लाखौँ रकम माग्दै अन्यथा ‘राम्रो नहुने’ धम्की दिएको उनको दु:खेसो छ ।

‘आर्थिक सहयोग भनेको त स्वेच्छाले दिने हो । दुई-चार हजार दिन लागेको तर उनीहरुले दुई-चार हजार लिने हाम्रो हैसियत हो ? भन्दै धम्क्याए’, उनले भने । लाखौँ रकम चन्दा मागेपछि उनी हारगुहार माग्दै मिडियामा आएका हुन् ।

राप्रपा नेपालका कार्यकर्ताहरुले यहाँस्थित विदेशी कम्पनीहरुलाई पनि त्यसैगरी धम्क्याउने गरेको भेटिएको छ । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका संयोजक चेतराज सिंहले हस्ताक्षर गरेको पत्रमा ‘भ्रष्टाचार,महँगीलगायत कुरीतिविरुद्ध निरन्तर आन्दोलन चलाइरहेकाले त्यसलाई सहयोग पुर्याउने हेतुले उक्त कम्पनीबाट आर्थिक सहयोग उपलब्ध गराइदिनुहुन’ भन्ने व्यहोराको पत्र एक विदेशी कम्पनीमा पुगेको बताइन्छ ।

पटक-पटक मन्त्री र उपप्रधानमन्त्रीसँगै परराष्ट्र मन्त्री भैसकेका कमल थापाका कार्यकर्ताले छिमेक सम्बन्ध नै बिग्रने गरी विदेशी कम्पनीहरुसँग जवर्जस्ती रकम मागेकोबारे राप्रपाका नेताहरुले भने अनभिज्ञता जनाएका छन् । अध्यक्ष थापा स्वयंले पनि यसबारे आफूलाई जानकारी नभएको बताए । जवर्जस्ती चन्दा उठाउने पार्टीको नीति नरहेको भन्दै उनले यसबारे तत्काल बुझेर आवश्यक कदम चाल्ने पनि वाचा गरेका छन् ।

टिप्पणीहरू