रुकुम घटना : बेपत्ता गोविन्दको खोजी हुनै छाड्यो
जेठ १० गते शनिबार बिहान घरबाट निस्केका जाजरकोटको भेरी नगरपालिका–११ पुलमटेलाका गोविन्द शाही ज्यूँदा छन् या मृतक अहिलेसम्म पत्ता छैन । १७ वर्षीय गोविन्द सोही दिन साथीको बेहुली लिन भन्दै रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गएका थिए ।
सोही बेलादेखि बेपत्ता भएका भनिएका गोविन्दको खोजी राज्यले गर्नै छाडिदिएको छ । उनका आफन्तजन भेरीको तिरैतिर धाउँदा धाउँदा लखतरान भइसके । उनीसँगै बेहुली भगाउन गएका ५ जनाको शव भेरीमै भेटिएपछि गोविन्द ज्यूँदा होलान् भन्ने आशा छैन परिवारलाई । तर, न लास पाएका छन्, न सास भेटिने आशा छ । मटेलाको सानो बजारको बीचमा रहेको उनको विक्षिप्त परिवार यतिबेला सरकारले निमुखामाथि गरिरहेको विभेदको सिकार बनेको छ । भेरीको तिरतिरै रुकुम, सल्यान, जाजरकोटदेखि सुर्खेतसम्म पुगेका उनका आफन्त र छिमेकीले गोविन्दको खोजीमा सरकार संवेदनशील नभएको बताउँछन् । गोविन्दका दाइ सन्देश शाही आफ्ना छिमेकीको साथमा दिनरात भेरीमा भाइको शव खोजी गरिरहँदा यो देशको सरकार मुकदर्शकजस्तै भएको बताउँछन् ।
भेरी नगरपालिका–४ का नवराज विकको शव १० गते शनिबार राति नै भेरी नदी किनारमा भेटिएको थियो । आइतबार उनीसँगै गएका चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम नेपालीको शव घटनास्थलबाट करिब २५ किमि तल जाजरकोटको भेरी नगरपालिका–१२ स्थित खोदा खोला नजिक भेटिएको थियो । सोमबार भेरी नगरपालिका– ४ का २१ वर्षीय गणेश बुढाको पनि शव भेटिएको थियो । उनको शव पनि टीकारामको शव भेटिएको स्थान नजिकै भेटिएको हो । त्यसैगरी भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनारको शव बुधबार दिउँसो भेटिएको थियो । उनको शव चौरजहारी–१ स्थित चौरजहारी अस्पताल नजिक रहेको अँधेरे भन्ने ठाउँमा फेला परेको थियो । त्यसैगरी भेरी नगरपालिका–४ का सन्जु विकको शव जाजरकोटको छेडागाड नगरपालिका–१३ को कालाभीर नजिक भेटिएको थियो । यी पाँच वटै शवको खोजी परिवार र आफन्तजनले नै गरेर भेट्टाएका थिए ।
बेपत्ताको बोलिदिने कोही छैन
एउटै घटनामा परेका अरू केहीको न्यायका लागि अधिकारवादीहरू लागिपरेका छन्, दोषीलाई उम्कन नदिने उनीहरूको अडान जायज छ । तर, बेपत्ता गोविन्दको खोजी अधिकारवादी र सरकारको प्राथमिकतामा पर्न सकेको छैन । घटनामा परेका ५ जनाको शव भेटिएपछि मृतकका आफन्तजनले पोस्टमार्टम पछि दाहसंस्कार गरिसकेका छन् । सञ्जु विकको परिवारबाहेक पीडित परिवारले शुद्धि कार्य सकाइसकेका छन् । तर, गोविन्दको घरमा भने सन्नाटा मात्रै छ । न मरेको लास भेटिन्छ, न ज्युँदो हुने सम्भावना देख्छन् आफन्तजन । गोविन्द बेपत्ता भएको खबर सुनेदेखि घरको चुलो बलेको छैन । गोविन्दको परिवारलाई पलपल साथ दिइरहेका छिमेकीबाहेक उनीबारे बोलिदिने कोही नभएको आभास परिवारजनलाई छ । गोविन्दको खोजी कार्यको लागि आफन्त र छिमेकी दिनदिनै सदरमुकाम धाएको धाएै छन् । तर, चित्त बुझ्दो काम कहीँकतैबाट भएको पाएका छैनन् । उनका बुबा इन्द्रबहादुुर शाही र आमा भिमी बुढाथोकी शाही छोराको अवस्था जान्न नपाउँदा बेहाल बनेका छन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोट उनको खोजी गरिरहेको बताउँछ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले खोजी जारी रहेको बताए । भेरी नदी र अन्य सम्भावित स्थानमा खोजी कार्य निरन्तर गरिरहेको श्रेष्ठको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम पनि खोजी जारी राखेको बताउँछ । उसले पनि कार्यालयको फेसबुक पेजलगायत विभिन्न माध्यमबाट हुलिया सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले मातहतका युनिट र अन्य जिल्लाका प्रहरी कार्यालय समेतसँग निकटतम् समन्वय गरी सम्भावित स्थानमा खोजी गरिरहेको बताए ।
फर्किए गोेताखोर
प्रहरीले बेपत्ताको खोजीका लागि भन्दै तालिम प्राप्त गोताखोर टोली मगाएको थियो । उक्त टोली केही दिन भेरीमा छामछुम गर्नमै सीमित रह्यो । यतिसम्म कि गोताखोर टिमभन्दा पनि बेपत्ताका आफन्तजनले नै शव भेट्टाएर प्रहरीलाई बोलाउने काम गरे । गोताखोर टिमले एउटा पनि शव नभेटाएको खोजी कार्यमा संलग्न व्यक्तिहरू बताउँछन् । भेरी नदी धमिलो बन्दै गएको र शव भेरीमै भेट्टाउन सक्ने सम्भावना कमै देखेर गोताखोर टोली फर्किएको हो ।
जेठ १० गते भेरी नगरपालिका–४ का नवराज विकको प्रेमिकालाई ल्याउन रुकुमको चौरजहारी नगरपालिका–८ सोती गएका बेला घटना भएको थियो । १७ वर्षीय मल्ल थरकी युवतीलाई ल्याउन जाँदा सोतीका गाउँलेले आक्रमण गरेर उनीहरूको मृत्यु भएको मृतकका आफन्तजनले बताएका छन् भने त्यसरी आक्रमण नगरेको स्थानीयले बताएका छन् । गाउँमा हुल बाँधेर खराब नियतसाथ आएकाहरूलाई प्रहरीमा बुझाउने गरी समात्न खोजेको उनीहरूले बताए । मृतकका आफन्तजनले सोतीका गाउँलेले ढुंगामुढा आक्रमण गरी मारेको दाबी गरेका छन् ।
टिप्पणीहरू