भेटियो गोविन्दको शव
रुकुम पश्चिमको सोती घटनाबाट बेपत्ता भएका गोविन्द शाहीको शव फेला परेको छ । योसंगै चौरजहारी नगरपालिका ८ सोतीमा गत जेठ १० गते शनिवार भएको घटनामा परी बेपत्ता भएका ६ जनाकै शव भेटिएको हो । बेपत्ता रहेका भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाहीको शव मंगलबार भेटिएपछि रुकुम घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको हो । शाहीको शव जाजरकोटको भेरी नगरपालिका वडा नं. १२ को खोदा खोला नजिक भेटिएको उनका आफन्तले बताएका छन् । यसअघि सोही स्थान नजिकै अन्य दुई जनाको शव भेटिएको थियो ।
भेरी नगरपालिका ४ का नवराज बिकको प्रेमिकालाई ल्याउन रुकुमको चौरजहारी नगरपालिका वडा नम्वर ८ सोती गएको बेला घटना भएको थियो । १७ वर्षिय मल्ल थरकि युवतीलाई ल्याउन जाँदा सोतीका गाउँलेहरुले आक्रमण गरेर उनीहरुको मृत्यु भएको मृतकका आफन्तजनले बताएका छन् भने त्यसरी आक्रमण नगरेको नगरेको स्थानीयले बताएका छन् । गाउँमा हुल बाधेर खराब नियतका साथ आएकाहरुलाई प्रहरीमा बुझाउने गरी समात्न खोजेको उनीहरुले बताएका छन् । मृतकका आफन्तले भने गाउँलेले ढुंगामुढाले कुटेर मारेको आरोप लगाएका छन् ।
उक्त घटनामा परेका भेरी नगरपालिका ४ का नवराज बिकको शव घटनाकै दिन शनिबार राति भेरी न किनारमा भेटिएको थियो । आईतबार उनीसँगै गएका चौरजहारी नगरपालिका वडा नं. १ का २० बर्षिय टिकाराम बि.क.को शव घटनास्थलबाट करिब २५ किलोमिटर तल जाजरकोटको भेरि नगरपालिका वडा नं. १२ स्थित खोदा खोला नजिक भेटिएको थियो । सोमबार भेरि नगरपालिका वडा नंं. ४ का २१ बर्षिय गणेश बुढाको पनि शव भेटिएको थियो । उनको शव पनि टिकारामको शव भेटिएको स्थान नजिकै भेटिएको हो । त्यसैगरी भेरी नगरपालिका वडा नं. ११ का १८ बर्षिय लोकेन्द्र सुनारको शव बुधबार दिउँसो भेटिएको थियो । उनको शव चौरजहारी १ स्थित चौरजहारी अस्पतालको नजिक रहेको अधेरे भन्ने ठाउँमा फेला परेको थियो । बेपत्ता रहेका १७ बर्षिय गोविन्द शाहीको शव टिकाराम र गणेश बुढाको शव भेटिएकै ठाउँ नजिक भेटिएको हो ।
मृतकका आफन्तजनले घटनामा संलग्न २० जना बिरुद्ध किटानी जाहेरी दिएका छन् । वडा अध्यक्ष सहित १८ जनालाई पक्राउ गरेर रुकुम पश्चिम प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
टिप्पणीहरू