राष्ट्रपति साँझ पशुपति जाने, तारा बरालले बाटो छेक्ने
हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ पशुपतिनाथ दर्शनका लागि जानुहुने भएको छ । उहाँ ५ बजे पशुपति जाने भएसँगै प्रहरी प्रधान कार्यालयले विशेष सुरक्षा प्रबन्ध मिलाएको छ ।
राष्ट्रपति भण्डारी शीतल निवासबाट लक्ष्मी निवास–शिवपुरी उमावि–नेपाल राष्ट्र बैंक–भाटभटेनी–छाता गणेश–नक्सालभगवती–ल्होत्से चोक–ज्ञानेश्वर–रातोपुल–गौशाला चोक हुँदै पशुपतिस्थित विशेष समारोहस्थलमा सहभागी हुने कार्यक्रम तय भएको छ । सोही रुट भएर उहाँ शीतल निवास फर्किने जनाइएको छ ।
वैकल्पिक सवारी मार्गका रुपमा शीतलनिवासबाट शिक्षण अस्पताल–नारायणगोपाल चोक–शंखपार्क–सुकेधारा–गोपीकृष्ण हल–चाबहिल चोक–मित्रपार्क–उमाकुण्ड हुँदै समारोहस्थल तोकिएको छ ।
त्यस्तै, नजिकको सुरक्षित स्थानमा पुग्ने उपयुक्त छोटो तथा सुरक्षित मार्गलाई संकटकालीन मार्ग निर्धारण गरिएको छ । मुख्य मार्गअन्तर्गत विशेष फौज बाहिनी, लक्ष्मी निवास र सशस्त्र प्रहरी गण नम्बर १ नक्साललाई सुरक्षित स्थान तय गरिएको प्रहरीले जनाएको छ ।
यता, सामाजिक अभियन्ता भनिने तारा बरालले राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिर जाने विषयमा विरोध जनाएकी छन् । उनले सामाजिक सञ्जालमार्फत धर्मनिरपेक्षवादी राष्ट्रपतिलाई हिन्दुहरुको आस्थाको धरोहर पशुपतिमा रोक लगाएर विरोध गर्न आह्वानसमेत गरेकी छन् ।
धर्मनिरपेक्षवादीले पशुपति टेक्दा मन्दिर अपवित्र हुने भन्दै उनले राष्ट्रप्रमुखको कटाक्ष गरिन् । बरालले राष्ट्रपति भण्डारीलाई चर्च जानसमेत सुझाएकी छन् ।
टिप्पणीहरू