मानव बेचबिखनविरुद्ध लगनखेलमा र्याली

मानव बेचबिखनविरुद्ध लगनखेलमा र्याली

आज मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १६ औं राष्ट्रिय दिवस । मुलुकभर विभिन्न चेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाइएको छ । ‘तीनै तहको सरकारः बेचबिखनविरुद्ध जिम्मेवार’ भन्ने मूल नाराका साथ विभिन्न स्थानमा र्याली निकालिएको छ ।

नेपालमा २०६४ सालदेखि यो दिवश मनाउन शुरु गरिएको हो । मानव बेचबिखन तथा ओसारपसार रोक्नका लागि सरकारले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४’ कार्यान्वयनमा ल्याएको छ ।

वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उध्देश्यले ललाईफकाई प्रलोभनमा पारी,झुक्याई,जालसाज गरी वा करकापमा पारी कसैलाई एक ठाँउबाट अर्को ठाँउमा लैजानु नै मानव बेचबिखन तथा ओसारपसार हो ।

कानूनले कसैलाई पनि बेचबिखन गर्न वा दास बनाएर राख्न नपाइने व्यवस्था गरेको छ । यस्तो हर्कत गरेको पाइएमा किन्ने र बेच्ने दुवैलाई २० वर्ष कैद र दुई लाख रुपैयाँसम्म जरिवाना हुने ऐनमा उल्लेख छ ।

कडा कानूनको बाबजुद पनि नेपालमा मानव बेचबिखन रोकिन नसक्नु साँच्चै नै लज्जास्पद विषय हो । गरिबी, अशिक्षा,बेरोजगारी र लैङ्गिक हिंसा मानव बेचबिखनको प्रमुख कारण हो । नेपाली महिला वा बालबालिकालाई भारतलगायत अन्य मुलुकमा लगेर वेश्यावृत्तिमा लगाउने गरेको बताइन्छ ।

अवैध बाटो हुँदै मानव तस्करहरुले खाडी मुलुक लगेर उनीहरुको शोषण गर्ने गरेका छन् । खुल्ला सीमानाका कारण तस्करहरुले धमाधम नेपाली नारीहरु ओसारिरहँदा पनि नियमनकारी निकाय रोकथाममा असमर्थ देखिएको छ । मानव बेचबिखन तथा ओसारपसारको विरोधमा आज ललितपुर महानगरपालिकाको लगनखेलमा दुई समूहले प्रदर्शन गरेका छन् ।

फितलो कानूनका कारण यस्तो गैरकानूनी कार्य रोकिन नसकेको सहभागीहरुको गुनासो छ । उनीहरुले मानव बेचबिखन रोकथामका लागि सबै जना आ-आफ्नो ठाँउबाट जागरुक हुनुपर्ने बताएका छन् । पीडक सजिलै उम्किने र पीडितले न्याय नपाउने प्रवृत्ति तत्काल रोक्नुपर्ने उनीहरुको माग छ ।

टिप्पणीहरू