दरबार हत्याकाण्डमा मारिएर पनि जसले सुख पाएनन्
तत्कालीन श्री ५ को सरकारका नाममा नापनक्सा भएको मशानघाट, बाटो र गौचरणको सरकारी सार्वजनिक जग्गा गुठी संस्थान र मालपोतका कर्मचारीको मिलेमतोमा तत्कालीन राजपरिवारका ज्वाइँ तथा २०५८ साल जेठ १९ को दरबार हत्याकाण्डमा मारिएका कुमार खड्गविक्रम शाहले गुपचुप पास गरी २९ करोड ८८ लाख ८१ हजार चार सय ३७ रूपैयाँ ५० पैसा भ्रष्टाचार गरेको तथ्यसहित गत विहीवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भयो । जनकपुरधामस्थित रत्नसागर मन्दिर र पिडारी चोक क्षेत्रमा पर्ने आठ बिघा १० कठ्ठा १२ धुर शाहको नाममा पारेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको छानबिनबाट देखिएको छ । तत्कालीन राजा वीरेन्द्रको प्रत्यक्ष शासनकालमा पञ्चायती सरकारले पर्ती जग्गालाई ०४३ साल साउन २८ गते बदनियतसाथ गुठी लगत कायम गराएको अनुसन्धानबाट पुष्टि भएको बताइन्छ । यही निर्णयलाई आधार मानेर मालपोत कार्यालय, धनुषाबाट २०५६ साल पुस १५ गते शाहको नाममा हाल–साबिक दर्ता कायम भएको छ । कति जग्गा ? को, को मुछिए ?
धनुषा जिल्ला साबिकको पिडारी गाविस–५, कित्ता नम्बर १३२ को २ बिघा १९ धुर, कित्ता नम्बर १३३ को १ बिघा ८ कठ्ठा १४ धुर, कित्ता नम्बर १३४ को १ बिघा ६ कठ्ठा ८ धुर, कित्ता नम्बर १३५ को २ बिघा १३ कठ्ठा १४ धुर र कित्ता नम्बर ६ को १ बिघा १ कठ्ठा ७ धुर जग्गा व्यक्तिका नाममा पारिएको छ । शुरु नापी हुँदा कायम भएका क्षेत्रीय किताबमा उल्लिखित जग्गाको विरह महलमा पर्ती, गौचरण, बाटो, मशानघाट उल्लेख भएको दाबी अख्तियारको छ । ती जग्गामध्ये कित्ता नंबर १३३ र १३४ मालपोत ऐन, २०३४ को दफा २ को ९ख ३० बमोजिम सार्वजनिक जग्गा र कित्ता नं। १३२ र १३५ को जग्गा मालपोत ऐन, २०३४ को दफा २ को ९ख २० बमोजिम सरकारी जग्गा नै भएको किटान अख्तियारको छ । ०४३ सालमा धनुषा मालपोत कार्यालय प्रमुख रहेका शशीनारायणलाल दास, नायब सुब्बा यमुनाप्रसाद पञ्जियार, खरिदार जगदेव कामती तथा तत्कालीन जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका प्रमुख मधुप्रसाद बस्ताकोटीको मुख्य भूमिका रहेको अनुसन्धानबाट खुलेको छ । यस्तै तत्कालीन प्रमुख मालपोत अधिकृत सूर्यकान्त झा, नायबसुब्बा हेमनाथ ढकाल र खरिदार गयाप्रसाद ठाकुर पनि भ्रष्टाचारमा मुछिएका छन् । जग्गा शाहको नाममा ल्याउनमा झा, ढकाल र ठाकुरको प्रत्यक्ष संलग्नता देखिएको छ । यस्तै, तत्कालीन मालपोत अधिकृत सोमनाथ भट्टराई, खरिदारद्वय नारायणबहादुर थापा र राजु उप्रेती पनि भ्रष्टाचारमा तानिएका छन् ।
अभियोगपत्रअनुसार तत्कालीन जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका प्रमुख मधुप्रसाद बस्ताकोटीले सरकारको नाममा रहेको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता कायम हुने गरी मालपोत कार्यालय धनुषालाई पत्र लेखेका छन् । अख्तियारले बस्ताकोटीबाट २९ करोड ८८ लाख ८१ हजार बिगो मागदाबी लिएको छ । मालपोत कार्यालय धनुषाका तत्कालीन नासु यमुनाप्रसाद पञ्जियारलाई पनि बस्ताकोटी बराबरै २९ करोड ८८ लाख ८१ हजार बिगो मागदाबी छ ।
खरिदार जगदेव कामतीलाई पनि उत्ति नै बिगो मागदाबी गरिएको छ ।
मान्छे मरे पनि अपराधको दायित्व नमर्ने
राजपरिवारका ज्वाइँ शाह भने २०५८ जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्डमा मारिएका थिए । उनको मृत्यु भइसकेको हुँदा अपराधीसँगै अपराध मर्छ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३३ र १५८ समेतको कानुनी व्यवस्थाबमोजिम उनलाई कैद र जरिवानाको सजाय हुन सक्ने अवस्था नरहेको अभियोगपत्रमा उल्लेख छ । तर, भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४६ तथा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३३ र १५८ को आधार लिँदै मरेको व्यक्तिको हकमा समेत सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानुनी व्यवस्था रहेको अख्तियारले जनाएको छ । साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९४० बिगो रु। निजको नाममा नै हाल रहेको कुनै सम्पत्तिबाट वा निजको नामबाट निजको हकवालाको नाममा सम्पत्ति गएको भए निजको हकवालसमेतबाट असुलउपर हुनुपर्ने माग अख्तियारको छ ।
शाहका नामबाट २७ जनामा नामसारी
शाहका नामबाट उतिबेलै २७ जनाका नाममा जग्गाको नामसारी भएको अनुसन्धानबाट खुलेको छ । सरकारी जग्गा जफत गरी सरकारकै नाममा कायम गराउने माग छ । अख्तियारका अनुुसार स्थानीय दिवशविक्रम शाह, विभाकुमारी यादव, राजकिशोर महासेठ, विमलादेवी, विजयकुमार मण्डल, चन्द्रकलाकुमारी देवी, त्रिफुलाकुमारी देवी, ललितादेवी यादव, नृपेन्द्र सिंह, रामपिनी साहका नाममा जग्गा नामसारी गरिएको छ । यसैगरी, सज्ञानदेवी, पुष्पा सिंह, लक्ष्मीनारायण मिश्रा, नितुकुमारी झा, शर्मिलाकुमारी, रणुकुमारी राय, नवलकिशोर यादव, जयकुमार गोइत, रिता देवी, सिकलीदेवी यादव, नवीनकुमार झा, मनीषाकुमारी झा, मीना कर्ण, विपेन्द्रकुमार मिश्र, राधिकादेवी यादव, मोमिना वेगम र गजेन्द्र ठाकुरको नाममा पनि जग्गा हस्तान्तरण भएको भेटिएको छ ।
पर्ती गौचरणमा रजगज
मालपोत कार्यालय धनुषाबाट गरिएको फिल्ड निरीक्षण तथा स्थलगत सर्जमिन मुचुल्का समेतबाट विद्यालय, कभर्डहल, मशानघाट, बजार, फुटबल खेलकुद मैदानजस्ता सबुतबाट यो जग्गा जमानादेखिकै सार्वजनिक रहेको देखिन्छ । फिल्डबुकको कित्ता नम्बर १३१ मा पर्ती ऐलानी जनिएको छ । कित्ता नम्वर १३२ मा मशानघाट, १३३ मा बाटो र १३४ मा पर्ती उल्लेख छ । २०२५ साल असार ३० गते फिल्डबुकमा सार्वजनिक सरोकारको जग्गा जनिएको छ । यस्तै गुठी संस्थान सभाको २०२५ साल जेठ २८ गतेको बैठकको निर्णय नं।२ हेर्दा समेत रत्नसागर स्थान तालुकको जग्गा लेखिएको प्रमाण फेला परेको छ । यो जग्गा रत्नसागर स्थान तालुक भित्रको जग्गा नभई पर्ति गौचरण नै रहेको किटान अख्तियारको छ ।
सरकारको स्वामित्वमा रहेको ठूलो परिमाणको सार्वजनिक कर्मचारीको गठजोडमा बदनियतपूर्वक व्यक्तिको नाममा स्वामित्व श्रृजना गरिएका कारण भ्रष्टाचारजन्य कार्यको वारदात स्थापित हुन आएको अभियोगपत्रमा उल्लेख छ ।
जग्गा यसरी जोडियो
२०२५ असार ३० गते धनुषाको साबिक पिडारी ५ स्थित कित्ता नम्बर १३२ को २ बिघा १९ धुर र १३५ को २ बिघा १३ कठ्ठा ४ धुर पर्ती जग्गा गौचरणको नाममा नापी भयो । त्यसैगरी कित्ता नम्बर १३३ को १ बिघा ८ कठ्ठा १४ धुर जग्गा मशानघाट र कित्ता नम्बर १३४ को १ बिघा ६ कठ्ठा ८ धुर जग्गा बाटोको नाममा नापी गरियो । पिडारी गाविस, कित्ता नम्बर ६ को धानखेत १ बिघा १ कठ्ठा ७ धुर समेत २०२५ सालको नापीमा तत्कालीन श्री ५ को सरकारको नाममा कायम गरिएको थियो । नापी कार्यालयको ढड्डाबाट पञ्चायतका अधिकारप्राप्त वडा सदस्य रामचन्द्र पाण्डेले यो प्रमाणित गरेको देखिन्छ । यी जग्गा क्षेत्राधिकारविपरीत निर्णय गर्दै तत्कालीन जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका प्रमुख बस्ताकोटीले शाहका नाममा स्रेस्ता कायम गरिदिने गरी मालपोत कार्यालय, धनुषालाई पत्राचार गरेका छन् । २०५८ मा खड्गविक्रमको हत्यापछि सोही बर्षको असार २५ गते दिवसविक्रम शाहको नाममा एकलौटी नामसारी दर्ता गर्ने गरी निर्णय भएको देखिन्छ । दिवशविक्रमलाई एकलौटी पार्ने कार्यमा तत्कालीन मालपोत अधिकृत भट्टराई, खरिदारद्वय थापा र उप्रेतीको प्रत्यक्ष संलग्नता अख्तियारले फेला पारेको छ ।
टिप्पणीहरू