निर्वाचनको मुखैमा गठबन्धन नेतालाई डेंगु
सत्ताधारी गठबन्धनमा आबद्ध मुख्य तीनवटा राजनीतिक पार्टीको जिल्ला नेतृत्व नै डेंगुको संक्रमणमा परेको छ । मकवानपुरका काँग्रेस जिल्ला सभापति बुद्ध लामा, माओवादी जिल्ला समन्वय समितिका सर्केश घलान र नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव बिष्णु दाहाललाई डेंगुको संक्रमण देखिएपछि उपचार भइरहेको छ । स्थानीय तहको निर्वाचनपछि गठबन्धनको जिल्लास्तरीय बैठक एकपटक बसेको छ । निर्वाचित अध्यक्ष, उपाध्यक्षहरूसहित बसेको बैठकमा गठबन्धनभित्रै अन्तरघात भएको, उपाध्यक्षतर्फ कम मत आएको, सहयात्री राजनीतिक पार्टी समाजवादीले छुट्टै उम्मेदवारी दिएर असहयोग गरेको जस्ता गुनासाहरू आएका थिए ।
मकवानपुरका १० स्थानीय तहमध्ये हेटौँडा उपमहानगरपालिका र इन्द्रसरोवर गाउँपालिका समाजवादीको, थाहा नगरपालिका, बागमती र भीमफेदी गाउँपालिका माओवादी केन्द्रको र मकवानपुरगढी, बकैया, राक्सिराङ, कैलाश र मनहरी काँग्रेसको नेतृत्व हुने गरी भागबण्डा गरिए पनि इन्द्रसरोवरमा कांग्रेसले छुट्टै उम्मेदवारी दिएर समाजवादीलाई अघि बढ्न दिएको थिएन । त्यसो त गठबन्धन भनिए पनि भीमफेदीमा माओवादी उम्मेदवार पराजित भई एमाले अघि आयो भने इन्द्रसरोवरमा पनि एमालेले जीत हासिल ग¥यो । इन्द्रसरोवरमा कांग्रेसले नैतिकता नदेखाएको र त्यसको असर सँगै जोडिएको भीमफेदीमा परेको समाजवादीको तर्क छ । त्यसो त अन्य पालिकाहरूमा समाजवादीले कुनै स्पेश नपाएपछि मैत्रीपूर्ण एकल प्रतिस्पर्धा गरेको थियो । यी सबै विषयमा गठबन्धनमा सल्लाह र समीक्षा भएको समाजवादीका सचिव विष्णुप्रसाद दाहालले बताए ।
अब मंसीर ४ मा हुने निर्वाचनको तयारी एमालेको तर्फबाट जोडबलले अघि बढेको छ भने सत्ताधारी गठबन्धन उम्मेदवार सिफारिस गरेर औपचारिकतामा सीमित छ । यद्यपि, मंसीर ४ को प्रदेश र प्रतिनिधिसभा चुनाव केन्द्रित छलफलहरू जिल्ला तहमा नभएको बताइएको छ । सुनिएअनुसार प्रतिनिधिसभा २ मा गठबन्धनका बिरोध खतिवडा र क्षेत्र नं १ मा कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) अघि बढ्नुभएको छ । त्यसो त माओवादीकी कुमारी मोक्तानको नाम पनि सिफारिस भएको छ तर बागमती प्रदेशको सामाजिक विकास मन्त्री रहनुभएका मोक्तान यसपटक प्रतिनिधि सभाकै समानुपातिक सूचीमा रहने गरी गृहकार्य अघि बढेको बताइन्छ । ४ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये २ को ख मा पुनः कांग्रेसकै नेता इन्द्रबहादुर बानियाँ उम्मेदवार बनेर मुख्यमन्त्री बन्ने, २ को ख मा थाहाका पूर्वमेयर लबशेर बिष्टलाई अघि बढाउने तयारी रहेको बुझिएको छ ।
त्यसो त क्षेत्र नं २ मै विरोध खतिवडालाई टिकट दिन नहुने भन्दै निवर्तमान राष्ट्रिय सभा सांसद रामनारायण बिडारीले दाबी गरिरहेका छन् । एमालेतर्फ पनि प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरू सिफारिस भएका छन् । स्रोतका अनुसार २ नं क्षेत्रमा ४ पटक निर्वाचित बिरोध खतिवडाबिरुद्ध एमालेले बलियो उम्मेदवारको रूपमा विद्यार्थी नेता महेश बर्ताैलालाई अघि सारेको छ । क्षेत्र नं १ मा राप्रपासँग तालमेल भएमा दिपकबहादुर सिंहले लिने दाबी राप्रपाले गरिरहेको छ ।
२०७४ को निर्वाचनमा प्रतिनिधिसभा र प्रदेश सभा गरी ६ वटा सिट रहेको मकवानपुरमा वामगठबन्धनलाई समेत उछिनेर काँग्रेस नेता इन्द्रबहादुर बानियाँ प्रदेश सभा सदस्यमा बिजयी भएका थिए । रमाइलो कुरा त के छ भने ४ पटक काँग्रेस नेतृ महालक्ष्मी डिना उपाध्यायलाई पराजित गरेका हालका समाजवादी स्थायी कमिटी सदस्य तथा तत्कालीन एमालेका नेता विरोध खतिवडा र डिनाको यसपटक भने प्रतिस्पर्धा नहुने देखिएको छ ।
टिप्पणीहरू