खाना, खाजा खाएपनि बालुवाटारमा सकस उस्तै

खाना, खाजा खाएपनि बालुवाटारमा सकस उस्तै

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । नेताहरूले बिहानको खानासहित खाजा र चिया खाए पनि हालसम्म निकास ननिस्केको बताइन्छ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सीट बाँडफाँडको टुंगो आजै लगाउने बताएका शीर्ष नेताहरूको बैठक जारी छ । यसअघि कार्यदलले बुझाएको अपुरो प्रतिवेदन र मोडालिटीको आधारमा रहेर छलफल भएको बताइए पनि कुरोको चुरोमा कोही पनि नपुगेको स्रोतको दाबी छ ।

कार्यदलले ९० सिटको मात्र भागबन्डामा सहमति भएको प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाइएको थियो । सहमति हुन नसकेका बाँकी सीटमा बाँडफाँडको जिम्मा शीर्ष नेताहरुलाई दिइएको छ । सहमति हुन नसकेका बाँकी ७५ वटा निर्वाचन क्षेत्रमा दोहोरोदेखि तेहोरोसम्म दाबी परेको छ ।

यता काँग्रेसभित्र सय सिटको अडान नछाड्न डा. शेखर कोइराला पक्षले अड्डी कसेको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायत गठबन्धनमा रहेका अन्य दलका अडानका कारण समस्यामा गाँठो परेको हो ।

बैठकमा प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राजमो उपाध्यक्ष दुर्गा पौडेलका साथै कार्यदलका सदस्यहरू उपस्थित छन् ।

टिप्पणीहरू