रामचन्द्र अनि हाँस्नु न रुनु

रामचन्द्र अनि हाँस्नु न रुनु

‘आयोगले तपाईंको पार्टीलाई के दुःख पर्छ सोधेर गर्ने हो र ? कानुन हेरेर गर्ने हो नि !’ कांग्रेस नेता रामचन्द्र पौडेलले जब प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाबाट यस्तो जवाफ पाए, तब उनको मन खिन्न छ ।

पार्टीभित्र शेरबहादुरको पेलान, आफ्नै समूहभित्र कोइरालाहरुको धोकाधडी । हुँदाहुँदा प्रमुख निर्वाचन आयुक्तलाई एउटा कुरा भन्न फोन गरेको, रुखो जवाफ पाएपछि उहाँ खिन्न हुनुभएको हो । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरुको मनोनयन दर्ता हुनुभन्दा २२ दिनअघि नै, अर्थात् असोज २ र ३ गते समानुपातिक प्रणालीतर्फका उम्मेदवारहरुको बन्दसूची पेश गर्नुपर्ने कुरा व्यवहारिक भएन भनेर उहाँले दिनेश थपलियालाई फोन गर्नुभयो । प्रत्यक्ष प्रणालीमा भाग लिन चाहने कतिपय उम्मेदवारलाई त्यो प्रणालीमा सहभागी गराउन नसकेको अवस्थामा समानुपातिकतिर हाल्नुपर्ने हुन्छ ।

तर, पहिल्यै समानुपातिकको बन्दसूची बुझाउनुपर्दा प्रक्रिया जटिल हुन गएको उहाँको गुनासो थियो । तर, दिनेले सफासफी जवाफ दिए, ‘समानुपातिकको बन्दसूची टुंग्याउन २२ दिन लाग्छ । २३ गते प्रत्यक्ष प्रणालीको मनोनयन दर्ता गर्ने भनेको छ । प्रत्यक्षका उम्मेदवारहरुको अन्तिम नामावली असोज २७ गते टुंगो लाग्छ । समानुपातिकको समेत गरेर दुबै प्रणालीका उम्मेदवारहरुको अन्तिम टुंगो कात्तिक १३ गतेमात्रै लाग्छ । त्यसैले हामीले कात्तिकको १४–१५ गतेदेखि मात्रै चुनाव प्रचार गर्न पाइन्छ भनेका छौँ ।’

उनले व्यक्तिगत रुपमा रामचन्द्रको दुःख सबै दलको दुःख हो भन्ने बुझेका रहेछन् । ‘कानुन बनाउँदा ख्याल नगर्ने, अहिले निर्वाचन तालिका बनाउँदा कानुन मिचेर गरौँ भन्न त कहाँ मिल्यो र हजुर’, थपलियाले जवाफ दिए । रामचन्द्रले भन्नुभयो, ‘पहिला त्यस्तो थिएन । मैले भन्ने कुरा त भनेँ । सबै पार्टीले विरोध गर्छन् है यसमा !’ थपलियाले आफूले कानुनभन्दा एक इञ्च पनि तलमाथि नगरेको सुनाए ।

उता, पार्टीभित्र रामचन्द्रको अवस्था फरक छ । सातचोटि हुने देउवाको भाग कहिले पुग्ने ? र, प्रधानमन्त्रीको हार्ने निर्वाचनमा १७ चोटि उम्मेदवार बनेका रामचन्द्रको पालो कहिले आउने ? यस्ता प्रश्न कांग्रेसभित्र अझै अनुत्तरित छन् । त्यसमा पनि रामचन्द्र पक्षका कतिले टिकट पाउलान् ? कतिले जित्लान् ? यो पनि टुंगो छैन । उहाँ नेपाली कांग्रेसभित्र बौद्धिक चिन्तन भएको, तर्कशील नेता हुनुहुन्छ । महाधिवेशनमा जो लड्दा पनि रामचन्द्र सभापतिमा, उपसभापतिमा प्रकाशमान र शशांक, महामन्त्रीमा गगन र शेखरभन्दा कसैले चिहाउँदैन थियो ।

तर, आफ्नै समूहभित्र कुरा मिलेन । अरु पनि आ–आफ्नै सुरले हिँडे । अरुले अन्तिम अवस्थामा शेरबहादुरलाई साथ दिए । अर्थात्, रामचन्द्रले सबैतिरबाट धोका पाउनुभयो । अहिले पनि टिकट वितरणमा प्रकाशमान, शशांक देउवाकै कोटामा पर्छन् । किनभने, महाधिवेशनमा तिनले देउवालाई साथ दिएका थिए । यसो भएपछि शेरबहादुरले रामचन्द्रलाई प्रधानमन्त्री बनाउन जरुरी पनि भएन । भनिन्छ, ‘रामचन्द्रका मान्छेले टिकट पाउने कुरा टिकट वितरणमा उहाँको भूमिका के हुन्छ भन्ने कुराले निर्धारण गर्छ ।’

अहिले प्रदीप पौडेल नै रामचन्द्रका हैनन् । कोइरालासहित हुँदा रामचन्द्रसँग थुप्रै हुन्छन् । रामचन्द्रकै भन्ने त बाग्लुङका प्रकाश पौडेल, पोखराका कृष्ण केसीहरु मात्रै छन् । शेरबहादुरले कोइराला, पौडेल र जल्दाबल्दालाई टिकट दिनुपर्छ भन्ने हिसाब गरिरहनुभएको छ । जित्ने उम्मेदवारमा आफ्ना पनि हुनै पर्छ । किनभने, तिनले हारे भने संसदीय दलमा कसरी जित्ने ? अर्कातिर गठबन्धन भत्किएर फेरि कम्युनिष्ट मिलिदिए भने के गर्ने भन्ने चिन्ता छ ।

टिप्पणीहरू