गरी छाड्छन् गठबन्धन

गरी छाड्छन् गठबन्धन

मंसिरमा हुने निर्वाचनका लागि पाँचदलीय गठबन्धन पक्कै होला कि नहोला ? प्रश्न अनेक छन् ।

भनिन्छ, सिटको तलमाथि होला । दलहरूबीच तानातान चल्ला । यावत् कुरा बेलामा नमिल्ला । तर, जो–जसले भत्काउन चाहे पनि गठबन्धन भने भत्किने अवस्था छैन । देशको आवश्यकता, जनतालाई सामाजिक र राजनीतिक न्याय दिन, विकास र समृद्धिभन्दा बढी दलका आ–आफ्ना बाध्यता, स्वार्थ र चुनौतीहरू हल गर्न बाँकी रहेकोले यो गठबन्धन टुट्ने लक्षण देखिन्न ।

पहिला स्थानीय तहमा ३५–४० हजार टिकट वितरणको बाध्यता थियो । त्यसमा भागबण्डा नमिल्दा धेरै ठाउँमा गठबन्धनबिनै चुनाव भयो । अहिले जम्मा प्रतिनिधिसभाका लागि १ सय ६५ र प्रदेशतर्फ ३ सय ३० सिट मात्रै मिलाउने चुनौती हो । नेपाली कांग्रेसभित्र कुरा नमिलोस् भन्ने चाहना शेखर कोइरालापक्षमा बढी छ । गठबन्धनका नाममा देउवा बलियो हुने कुरा सो पक्षलाई मन परेको छैन । उता, एमालेलाई चुनावका निम्ति मधेशको हकमा महन्थ ठाकुर वा उपेन्द्र यादवमध्ये एक पक्ष नभई भएको छैन । उपेन्द्रसँग एमालेको तालमेल हुने सम्भावना कम छ । मधेस प्रदेशमा उपेन्द्रले संघतर्फ १६ सिट दाबी गर्नु भनेको प्रदेशतर्फ ३२ सीट अर्थात् एकल बहुमतको सरकार बनाउन पर्याप्त संख्या हो ।

कान्तिपुर कन्क्लेभमा बोल्दा एमाले अध्यक्ष केपी ओलीले भन्नुभएको थियो– ‘नेपालको प्रधानमन्त्री कहिले बनिन्छ र हटिन्छ भन्ने कुरा नेपाली जनतालाई थाहा हुँदैन ।’ हो, उहाँ आफैँ पनि दुईचोटि प्रधानमन्त्री बनेको र हटेको घटनाका भुक्तभोगी हुनुहुन्छ । सर्पको खुट्टा सर्पले देख्छ भनेझैँ राजनीतिको छिद्र त्यही भंगालोमा हाम्फालेको मान्छेले चाल पाउने नै भयो । अहिले पाँचदलीय गठबन्धन एमालेलाई घेराबन्दी गर्नका लागि एक ठाउँमा आउनुका पछाडि ओलीले भनेका कुरा पनि कारक छन् । यहाँ अमेरिकाले नियन्त्रित अस्थिरता चाहेको हो, त्यो काम भइरहेको छ । एमसिसी जसरी पनि पारित गराउनु थियो, भयो ।

भारतलाई नागरिकता विधेयक अहिले नै संसदबाट पारित गराउनुपर्ने थियो, त्यो पनि भयो । चीनले वाम एकताको सुगा रटाई जति रटे पनि त्यो असफल सावित भएको छ । ओली अहिले दुई राप्रपालाई दायाँबायाँ राखेर अगाडि बढे पनि चुनावपछि वामपन्थी धु्रवीकरण हुने सम्भावना छ । कांग्रेसले बहुमतको दम्भमा गठबन्धनसँग न्यायोचित साझेदारी नगर्ने सम्भावना बढी छ । चुनावको बेलासम्म एमालेको आकार निक्कै खुम्चिएको हुन्छ । र, ऊ पुराना गल्ती सच्याउँदै अगाडि बढ्ने दिशातर्फ अग्रसर हुने सम्भावना रहन्छ । ऊ पहिल्यै झुक्न, लत्रिन जानेको भए यो हालत हुने नै थिएन ।

अर्कातिर, मधेसमा को शेर हुने भनेर जसपा र कांग्रेसबीच होडबाजी छ । पहाड त एउटा ठूलो केक हो, सबैले बाँडेर खाने । स्वतन्त्रहरू पनि दलहरूको अलोकप्रियताबीच धमिलो पानीमा माछा मार्न खोजिरहेका छन् । बालेन साह, हर्क साम्पाङ, गोपाल हमाल हुन सकिन्छ कि भन्ने सपनामा स्वतन्त्रहरूको सल्बलाहट बढेको छ । स्वतन्त्रका घुमफिरमात्रै हैन, चुनावको मुखमा अनुमान नगरिएका थुप्रै राजनीतिक घटनाक्रम सम्भावित छन् । सरकार र राष्ट्रपतिबीच नागरिकता विधेयकका विषयमा चलिरहेको रस्साकस्सीले कस्तो रूप लिन्छ ? संसद नै नरहेपछि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणामाथि लागेको महाभियोग के हुन्छ ? यसको प्रष्टचित्र आइसकेको छैन ।

टिप्पणीहरू