आफूविरुद्धको मुद्दा खारेज गर्ने निर्णयको विप्लव समूहद्वारा स्वागत
सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताविरुद्ध लगाइएका मुद्दा खारेज गर्ने निर्णय गरेको छ । सरकारको उक्त निर्णयलाई विप्लव समूहले स्वागत गरेको छ ।
पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सरकारको निर्णयलाई स्वागत गरेका छन् । आज प्रकाशित विज्ञप्तिमा सरकारले गरेको मुद्दा खारेजको निर्णयलाई आफ्नो पार्टीले स्वागत गरेको प्रवक्ता विश्वकर्माले बताएका हुन् । मन्त्रिपरिषद्को सोमबारको निर्णयपछि सबै मुद्दा फिर्ता हुने भएको छ ।
उनले सो निर्णय तत्कालीन केपी ओली नेतृत्वको सरकार र आफ्नो पार्टीबीच भएको सहमतिअनुसार भएको समेत विज्ञप्तिमा उल्लेख गरेका छन् । सरकारले गरेको पछिल्लो निर्णयले तीन बुँदे सहमति कार्यान्वयनमा झनै गुणात्मकता प्रदान गरेको विप्लव समूहको निश्कर्ष छ ।
सरकारले मुद्दा खारेजीका सम्बन्धमा गरिएको निर्णयमा राजनीतिक निर्णय गरी प्रशासनिक एवम् अर्ध न्यायिक प्रकृतिका मुद्दालाई यथाशीघ्र किनारा लगाउन र कानुनसँग अन्तर्विरोध देखिएका मुद्दाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने भनिएको छ ।
टिप्पणीहरू