रवीन्द्र आउने कुराले राप्रपामा विवाद, विद्रोहको चेतावनी

रवीन्द्र आउने कुराले राप्रपामा विवाद, विद्रोहको चेतावनी

विवेकशील साझाको अध्यक्ष छाडेका रवीन्द्र मिश्रलाई माथिल्लो दर्जामा राखेर पार्टी प्रवेश गराउने अध्यक्ष राजेन्द्र लिङ्देनको तयारीप्रति राप्रपाका पाका नेताहरु असन्तुष्ट देखिएका छन् । दोस्रो वरीयतामा उपाध्यक्ष दिएर मिश्रलाई राप्रपामा भित्र्याउन लिङ्देन मसक्क आँटेर लागेको बुझेपछि बुद्धिमान तामाङसहितका प्रभावशाली नेताहरू भड्किएका हुन् ।

स्रोतका अनुसार मिश्रलाई दोस्रो वरीयता दिँदा पार्टीका संस्थापक नेताहरू पशुपतिशमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनीको व्यवस्थापन गर्न निकै सकस छ । मिश्रले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको उम्मेदवार मनोनयनअघि नै राप्रपा प्रवेश गर्ने चाहना राखेका छन् । त्यसका लागि उनले पटक–पटक राप्रपा नेताहरूसँग छलफल गरे पनि दोस्रो वरीयता दिन लिङ्देनबाहेकका अरु नेता तयार नभएकाले ढिलाइ भएको बताइन्छ ।

विवेकशील साझाका सातमध्ये छ प्रदेश अध्यक्षसहित ठूलो संख्यामा नेता–कार्यकर्तालाई राप्रपा प्रवेश गराउने प्रतिबद्धता गर्दै सह–अध्यक्ष मागेकोमा मिश्र अन्ततः दोस्रो वरीयतामा उपाध्यक्ष बन्न सहमत भएको स्रोत बताउँछ । लिङ्देन र उनीनिकट नेताहरु मिश्रको मागबमोजिमको पद दिन तयार भए पनि बुद्धिमान तामाङहरुले नमानेका हुन् ।

राप्रपामा अहिले राणा र लोहनी वरिष्ठ नेता छन् । मिश्र आउँदा राणा र लोहनी पछि पर्नेछन् । सोही कारण तामाङसहितका नेताहरू मिश्रलाई भित्र्याउन तयार नभएको एक नेताले जानकारी दिए ।

मिश्रको भने एकमात्र चाहना काठमाडौं–१ मा हलो चिन्हबाट चुनाव लड्ने र कांग्रेसका प्रकाशमान सिंहलाई हराएर सांसदको लोगो लगाउनेमा देखिन्छ । त्यसका लागि उनले ‘विचारभन्दा माथि देश’ को नयाँ सिद्धान्त प्रतिपादन गरेका छन् । त्यसलाई विवेकशीलका नेताहरुले राप्रपा प्रवेशको बाटो ठानेका छन् ।

बुद्धिमानहरुको असन्तुष्टीका बाबजुद् लिङ्देनले पेलपाल गरेर कुरो मिलाए यहि साताभित्रै मिश्र राप्रपा प्रवेश गर्ने सम्भावना उत्तिकै रहेको बताइन्छ । राप्रपाको असन्तुष्ट समूहका एक नेताले मिश्रलाई लिङ्देनपछिको नेता स्वीकार नगर्ने बताउँदै अन्यथा ‘विद्रोह’ हुने चेतावनी दिएका छन् ।

टिप्पणीहरू