मन्त्रीलाई कति गाडी फेर्नु परेको !

मन्त्रीलाई कति गाडी फेर्नु परेको !

खानेपानी मन्त्री उमाकान्त चौधरीमाथि निजी प्रयोजनका लागि सरकारी गाडी दुरूपयोग गरेको आरोप लागेको छ । मन्त्रालयका लागि भनेर चौधरीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (आयोजना कार्यान्वयन निर्देशनालय) बाट चार वटा गाडी लगेका छन् ।

बिना जानकारी मन्त्री चार वटा गाडी लिएर हिँडेपछि निजी प्रयोजनका लागि हुनसक्ने कर्मचारीको ठम्याइ छ । मन्त्री त्यत्रो गाडी लिएर कतातिर लागे ? चासोको विषय बनेको छ ।

यसअघि पनि उनीमाथि करार कर्मचारी नियुक्तिमा अनावश्यक हस्तक्षेप गरेको आरोप लागेको थियो । खानेपानी संस्थानले ४८ जना करार कर्मचारी नियुक्तिका लागि विज्ञापन खुलाएकोमा आफ्ना कार्यकर्ता भर्ति गराउनैका लागि योजना बुनेको भन्दै चर्को आलोचनासमेत भएको थियो ।

उनले खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशक फेर्नका लागि समेत आर्थिक चलखेल गर्ने गरेको स्रोतको दाबी छ । तत्कालिन विभागका डिजी र मेलम्ची आयोजनाका कार्यकारी निर्देशकसमेत बनिसकेका तिरेशप्रसाद खत्रीलाई प्रदेशतर्फ हुत्याउनका लागि चौधरीले दौडधुप गरिरहेको स्रोतले बतायो ।

खत्रीलाई हटाएर ल्याइएका सुर्य कँडेल अवकाश भएपछि हाल विभागको जिम्मेवारी रमाकान्त दुवाडीलाई सुम्पिइएको छ । त्यसैगरी, विभागका कार्यवाहक महानिर्देशक कमल श्रेष्ठलाई मेलम्ची खानेपानी आयोजनाअन्तर्गत सरुवा गरिएको छ । आजबाट उनले जिम्मेवारी सम्हाल्नेछन् ।

गत बजेट भाषणमा मेलम्ची खानेपानी आयोजना विभागमै गाभिने भनेपनि अहिलेसम्म यसबारे टुंगो लाग्न सकेको छैन । यी दुई निकाय गाभिने सम्भावना निकै न्यून रहेको स्रोतले जनाएको छ । स्रोतकाअनुसार मन्त्री चौधरी आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनअगावै मेलम्चीको पानी ल्याउनैपर्छ भन्दै छन् । बिना तयारी २०७७ साउनमा मेलम्चीको पानी परीक्षण क्रममा सुरुङ्गको ढोका भत्किएको थाहा पाउँदापाउँदै पनि मन्त्री चौधरीले हतारोमा पानी ल्याउन चाहेका हुन् ।

त्यतिबेला मेलम्चीको सुरुङको गेट फुट्दा कलिला उमेरका इञ्जिनियर सतिश गोइतको ज्यान गएको थियो । त्यस्तै, सवारी चालक राधाकृष्ण थापामगर भने बेपत्ता भएका थिए । राजधानीमा पानी ल्याउनेभन्दा पनि मानवीय सुरक्षाको प्रत्याभूति गराउनु बढी चुनौतीपूर्ण रहेपनि मन्त्रीले बेवास्ता गरेको स्रोतको आरोप छ ।

टिप्पणीहरू