सूर्याेदय नगरपालिकामा ५० करोडका आयोजना

सूर्याेदय नगरपालिकामा ५० करोडका आयोजना

सहरी विकासमन्त्री मेटमणि चौधरीले समावेशी संविधान, महिला, दलित, सीमान्तका पक्षमा उभिएको संघीय गणतन्त्रसहितको संविधान मास्ने षड्यन्त्र भएकाले सबै मिलेर एमालेलाई परास्त गर्न जरुरी भएको बताउनुभएको छ । उहाँले उक्त धारणा विभिन्न एकीकृत सहरी पूर्वाधार निर्माण कार्यक्रमअन्तर्गत इलामको सूर्याेदय नगरपालिकामा ५० करोडका कार्यक्रम शिलान्यासको क्रममा उल्लेख गर्नुभएको हो ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र मन्त्री चौधरीले छ महत्वपूर्ण सडकको हिजो शिलान्यास गर्नुभएको छ । सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत फिक्कल रिङ रोड, हुरहुरे भन्ज्याङ्–ग्यावाचोक, छब्बीसे –छिरुवा सडक, रातमाटे –माने डाँडा सडक, माने भन्ज्याङ–च्यामेखोला गोर्खे सडक शिलान्यास गरिएको हो । आयआर्जन जन्य पूर्वाधारतर्फ नगर बसपार्क, चिस्यान केन्द्र, कन्याम पार्क, पोखरी संरक्षणदेखि पोखरी सौन्दर्यकरणसम्मका कार्यक्रम छन् ।शिलान्यास कार्यक्रममा बोल्दै खनालले सूर्याेदय नगरपालिकालाई सुन्दर, आधुनिक र नमुना बनाउने जानकारी दिनुभयो । इलाम हिरा हो तर कुद्न बाँकी छ भन्दै खनालले भन्नुभयो, ‘रिङरोडको विकास, सन्दुकपुरको थप विकास, श्रीअन्तु डाँडाको सुन्दरतमा वृद्धि, होम स्टे, चिया बगान, यसको सौन्दर्यको अन्तर्राष्ट्रियकरण गरिने छ । त्यसपछि व्यापार, बिजनेस थप बढ्ने छ ।’

मन्त्री चौधरीले पनि झलनाथ खनाल जस्तो व्यक्तित्व भएको, पर्यटन र उत्पादनमा चिनिएको सुन्दर इलामलाई थप सुन्दर, व्यवस्थित बनाउन सहरी मन्त्रालयले कुनै कसर बाँकी नराख्ने बतउनुभएको छ । पहिलो पटक इलाम आएको बताउदै मन्त्री चौधरीले इलामका जनताले चाहे जस्तो विकसित सहर बनाउन पहल हुने उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘सुन्दर चिया बगान देख्दा निकै आनन्द लागेको छ । इलामको विकासमा पैसाको कमी हुने छैन ।’ उहाँले मुलुकमा नयाँ संस्कार बसाल्न जरुरी रहेकोमा जोड दिनुभयो ।

टिप्पणीहरू