माओवादी र एकीकृत समाजवादीले भोलि टुङ्ग्याउने

माओवादी र एकीकृत समाजवादीले भोलि टुङ्ग्याउने

सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आगामी मंसिरमा हुने संघ तथा प्रदेशको निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको नामावली भोलि टुङ्ग्याउने भएका छन् ।

उम्मेदवारी टुंग्याएर बन्दसूची निर्वाचन आयोगमा बुझाउन माओवादी केन्द्रले भोलि पदाधिकारी बैठक बोलाएको छ । समाजवादीको सचिवालय बैठक पनि भोलि बस्दैछ । त्यसअघि प्रदेशबाट सिफारिस भएका नाम मिलाउन दुबै दल आ–आफ्नो पार्टीको आन्तरिक छलफलमा जुटेका छन् ।

आज बसेको माओवादी पदाधिकारी बैठकले महासचिव देव गुरुङको नेतृत्वमा उपमहासचिवद्वय गिरिराजमणि पोखरेल र वर्षमान पुन सदस्य रहेको कार्यदल गठन गरेको छ । कार्यदलले प्रदेशबाट आएका नामको सूची काँटछाँट गरेर भोलिको पदाधिकारी बैठकमा पेश गर्ने जिम्मेवारी पाएको छ ।

दुवै पार्टीले समानुपातिक उम्मेदवारको मापदण्ड पनि तय गरेका छन् । माओवादीले अन्तरिम विधायिकामा बाहेक यसअघि समानुपातिक उम्मेदवार भैसकेकालाई नदोहोर्याउने, गठबन्धनका कारण प्रत्यक्षतर्फ उम्मेदवारी नपरेको जिल्लालाई प्राथमिकतामा राख्ने, स्थानीय निर्वाचनमा उम्मेदवार उठेकालाई समानुपातिकको बन्दसूचीमा नराख्ने मापदण्ड बनाएको छ ।

समाजवादीले पनि निवर्तमान प्रतिनिधि र प्रदेशसभाका सदस्यलाई नदोहोर्याउने, स्थानीय तह निर्वाचनका उम्मेदवारलाई बन्दसूचीमा नराख्ने र दुई पटक वा सोभन्दा बढी समानुपातिक सांसद वा राष्ट्रियसभा सदस्य भएकालाई उम्मेदवार नबाउनेलगायत ६ बुँदे मापदण्ड तय गरेको छ ।

निर्वाचन आयोगले समानुपातिक सूची बुझाउने समय आज र भोलि दिएको छ । प्रत्येक दलले संविधानअनुसारको जातीय, क्षेत्रीय, लैंगिक क्लस्टर मिलाएर एक सय १० जनाको नाम समेटिएको बन्दसूची पठाउनुपर्ने हुन्छ ।

टिप्पणीहरू