राप्रपाको कार्यालयमा दुई तिरको डाङ्गडुङ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पार्टी केन्द्रीय कार्यालय,धुम्बाराहीमा भाँडभैलो मच्चिएको छ । चितवन क्षेत्र नम्बर–२ का अध्यक्ष तिलकबहादुर गुरुङ्ग र केन्द्रीय सदस्य सीमा घतान विश्वकर्मासहितको टोलीले हिजो पार्टी कार्यालय घेर्दा जवाफी हमला भएको छ ।
झण्डै एक सय जनाको टोलीले प्याम्प्लेट बोकेर कार्यालयमा नाराबाजीसहित प्रदर्शन गरेको थियो । तिनले ‘पार्टीलाई निजी कर्मचारी भर्ती केन्द्र बनाउन पाइँदैन,‘टीके दासतन्त्र मूर्दावाद’, ‘विधि र विधान कायम गर’,‘राष्ट्रिय प्रजातन्त्र पार्टी जिन्दावाद’ लगायतका नारा लगाएका थिए ।
यसैबीच राप्रपा नेता विक्रम पाण्डेका स्वकीय सचिव प्रेम बलायर र रिजीप्रतापजंग शाहमाथि डेढ दर्जनको संख्यामा गुण्डा लिएर कार्यालय पुगेको आरोप छ । ध्यानाकर्षण गरिरहेका प्रदर्शनकारीलाई उनीहरुले धम्काउँदै अध्यक्ष राजेन्द्र लिङ्देनसंग भेट्न रोक लगाएको बताइन्छ ।
केन्द्रीय सदस्य विश्वकर्मा र अध्यक्ष गुरुङ्गबाहेक अन्यलाई भेटवार्ता गर्न नदिइएको प्रदर्शन गर्न आएकामध्ये एक जनाले बताए । गुण्डाहरुले रड, भाला,नक,खुँडाजस्ता हातहतियार बोकेर पार्टी कार्यालय प्रवेश गरेको उनको भनाइ छ ।
पार्टी अध्यक्ष लिङदेनलाई भेट्न नपाएपछि अधिकांश प्रदर्शनकारीहरु चितवन फर्किएका छन् । काठमाडौंमै रहेकाहरुले राष्ट्रिय मानव अधिकार आयोग गुहार्ने भएका छन् । त्यस्तै,नेता पाण्डेविरुद्ध प्रहरीमा उजुरी हाल्ने र सुरक्षा माग्ने उनीहरुले बताएका छन् ।
टिप्पणीहरू