प्रेसकाउन्सिललाई अदालतद्वारा एकै दिन दुई पुर्जी
काठमाडौं जिल्ला अदालतले एकैदिन प्रेस काउन्सिल नेपाल को नाममा दुई वटा पुर्जी काटेको छ । अदालतबाट भदौ २४ गते एउटै विषयमा दुई पटक पत्र काटेको हो । निवेदनसहितको फाइल पठाइदिने सम्बन्धमा अदालतले दुईचोटि पत्र काटेपछि काउन्सिलका कर्मचारी अलमल्ल परेका छन् ।
कुन पत्र सक्कली, कुन नक्कली कर्मचारी यकिन छैनन् । मिति, फाँट नम्बर एउटै भएपनि चलानी नम्बर र शाखा अधिकृतको दस्तखत भने फरक रहेको छ । मुद्दा फाँट नम्बर ३२ भनेर पत्रमा उल्लेख छ । तर, एउटाको चलानी नं १६६३६ र अर्कोमा १६७९७ राखिएको छ । एउटै फाँटबाट जारी भएको पत्रमा छुट्टाछुट्टै शाखा अधिकृतको हस्ताक्षरले भने आश्चर्यचकित बनाएको हो ।
पहिलो पत्रमा भनिएको छ, ‘उपरोक्त विषयमा निवेदक एनआईसी एशिया र प्रतिवादी अनलाइन पाना न्युज पोर्टलको कार्यालयसमेत भएको निषेधाज्ञा मुद्दामा यस अदालतको मिति २०७९–२–२० गरेको आदेशानुसार यो पत्र लेखिएको छ ।
अतः अनलाइनपाना न्युज पोर्टल र सोका प्रधान सम्पादकबीच प्रेस काउन्सिल नेपालमा दर्ता नम्बर ४२५ मिति २०७९–१–२२ मा निवेदन दिएको सम्बन्धमा के कारबाही निर्णय भएको छ वा के भई टुङ्गो लागेको छ वा छैन ? सो निवेदनसहित कागजातसहितको फाइल यस अदालतमा पठाइदिनुहुन अनुरोध गरिन्छ ।’
दोस्रो पत्रमा अदालतले भनेको छ, ‘प्रस्तुत मुद्दा मिति २०७९–२–२७ गते अन्तरिम छलफलको लागि पेशी चढेको हुँदा अगावै फाइल पठाइदिनुहुन अनुरोध गरिन्छ ।’ अदालतले पठाएको पत्रमा शीर्षकमै गडबड छ । काठमाडौंसमेत सही तरिकाले लेखिएको छैन । काठमाडौं हुनुपर्ने ठाउँमा ‘काठामाडौ’ भएको छ । मुद्दा फाँट नम्बर ३२ हाल सञ्चालनमा नरहेको अदालतका सूचना अधिकारी दीपक दाहालले बताए । लामो समयदेखि ३२ लाई २७ नम्बर फाँट बनाएको उनको भनाइ छ ।
पुराना लेटरप्याडमै निर्देशन जारी गरेको हुनाले त्रुटि हुनसक्ने उनको भनाइ छ । यता, एउटै व्यहोरामा एकैदिन दुईटा पत्र पठाउन नमिल्ने कानुनी प्रावधान छ । तर, आफैंद्वारा निर्मित कानुन अदालतले मिचेको पाइएको छ ।
अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटनीले यसविषयमा आफू अनभिज्ञ भएको बताए । उनले भने, ‘जुन फाँटबाट गल्ती भएको हो, त्यसमै सोध्दा राम्रो होला । मलाई यसबारे केही थाहा छैन ।’ फाँटवाला गोरखबहादुर बुढालाई पटकपटक सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् ।
यता, प्रेस काउन्सिलका शाखा अधिकृत सुरेन्द्र मल्लले अदालतद्वारा गम्भीर लापरवाही भएको बताए । एउटै पत्र दुईपटक पठाउनाले आफू पनि एकछिन अकमक्क परेको उनको भनाइ छ । अदालतलाई गल्तीबारे सूचना दिइसकिएको उनले जानकारी दिए ।
एनआइसीले किन हालेछ मुद्दा ?
एनआइसी एशिया बैंक र बैंकका सिइओ, कर्मचारीबारे मनगढन्ते समाचार प्रकाशन गरेको भन्दै अनलाइन पानाविरुद्ध प्रेस काउन्सिलमा निवेदन परेको थियो । तर, काउन्सिलद्वारा कुनै कारबाही नभएपछि बैंक गत जेठमा अदालत गयो । सोहीसम्बन्धमा अदालतले काउन्सिललाई निवेदनसहितको फाइल बुझाउन भनेको हो ।
टिप्पणीहरू