एक महिनामा साढे २ अर्बको बिजुली बेचियो
नेपालले गत भदौ महिनामा दुई अर्ब ४२ करोड रुपैयाँको विद्युत बिक्री गरेको छ । नेपाल विद्युत प्राधिकरणले मुलुकभित्र खपत गरी बाँकी रहेकोमध्ये २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत भारतलाई बेच्दा दुई अर्ब ४१ करोड ६७ लाख ८२ हजार रूपैयाँ प्राप्त भएको जनाएको छ ।
प्राधिकरणले गत जेठ, असार, साउन र भदौमा कुल ७८ करोड ७८ हजार युनिट विद्युत भारतमा निर्यात गरेको छ । त्यसबाट नेपालले सात अर्ब १९ करोड ८६ लाख रुपैयाँ पाएको छ । भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँमा हुने भएकाले चार महिनाको अवधिमा विद्युत बिक्रीबाट चार अर्ब ४९ करोड ९१ लाख भा नेपाल भित्रिएको हो ।
प्राधिकरणले भदौमा मात्र विद्युत बिक्रीबाट एक अर्ब ५१ करोड ५ लाख रुपैयाँ भारु आम्दानी भएको जनाएको छ । हरेक महिना विद्युत निर्यात बढेसँगै यसबाट प्राप्त हुने रकमबाट नेपालको विदेशी मुद्रा सञ्चिती बढ्नुका साथै दुई मुलुकबीचको व्यापार घाटा कम गर्न योगदान पुगेको बताइएको छ ।
प्राधिकरणले यो वर्ष विद्युत निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । आगामी मंसिरको पहिलो हप्तासम्म विद्युत निर्यात गर्न सकिन्छ । पुसदेखि बैशाखसम्म निर्यात गर्न सकिँदैन । जेठपछि फेरि निर्यात सुरु हुँदा लक्ष्य पूरा हुने अनुमान गरिएको हो ।
प्राधिकरणले देशभित्र खपत गरी बचत हुने वर्षायामको थप १००.९ मेगावाट बिजुली इण्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको प्रस्ताव गरेको छ । प्राधिकरणले केही दिनअघि चार जलविद्युत गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आइएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको छ ।
टिप्पणीहरू