बाँस्कोटालाई अँठ्याउन गठबन्धनको गलफत्ती
फराकिलो मतान्तरले तत्कालीन कांग्रेसका जिल्ला सभापति मधु आचार्यलाई हराएका एमाले पोलिटब्युरो सदस्य एवं काभ्रे जिल्ला इञ्चार्ज गोकुल बाँस्कोटा पुनः सोही क्षेत्रका लागि सर्वसम्मत सिफारिस भएका छन् । प्रतिनिधि सभा क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रीय कमिटीमा उनको नाम सर्वसम्मत भएको छ ।
कांग्रेसले उक्त क्षेत्रमा आफ्नो सर्वसम्वत दावी रहेको बताएको छ भने कांग्रेस सभापति तीर्थ लामाको निर्वाचन क्षेत्र १ भएकाले उनले आफ्नो क्षेत्र लिएर उक्त क्षेत्र समाजवादी वा माओवादी जसले लिए पनि छाडिदिने संकेत गरेका छन् । तीर्थ लामा समूहका शिव हुमागाई र रामचन्द्र पौडेल समूहका पुर्व सभापति मधु आचार्य उक्त क्षेत्रका दावेदार हुन् ।
प्रदेश महामन्त्री कञ्चनचन्द्र बादे प्रदेशतर्फ झरेर सिट सुरक्षित गरेका छन् । उनको क्षेत्रमा पनि एमालेबाट समाजवादीमा गएका मन्त्री बसुन्धरा हुमागाईंको चर्काे दाबी छ । एकले अर्काेलाई स्विकार्ने पक्षमा जिल्ला तहमा कुनै दल तयार छैनन् । स्थानीय तहमा जस्तै केन्द्रबाट बनेको नीति र निर्देशनअनुसार भागवण्डा हुने भएकाले गठबन्धनभित्र कसले कसलाई छेक्ने र रोक्ने भन्ने अभियानमा नेताहरू जुटेका छन् ।
बाँस्कोटा अहिले घरदैलोमा निस्किएका छन् । नेपाली कांग्रेसले सोही क्षेत्रबाट दर्जनभन्दा धेरैको नाम सिफारिस गरेको छ भने नेकपा माओवादी अझै अलमलमा छ । प्रतिनिधि सभा १ मा एमालेबाट ६ जना र प्रतिनिधि सभा २ मा गोकुल बाँस्कोटा सर्वसम्मत भएका छन् ।
प्रतिनिधि सभा १ अन्तर्गत क मा १५ जना र ख मा १२ जनाको नाम सिफारिस भएको छ । प्रतिनिधि सभा २ अन्र्तगतको प्रदेश सभा क मा ५ जना र ख मा ७ जनाको नाम सिफारिस भएको छ । कांग्रेसका तर्फबाट १ सय ३६ जनाले उम्मेदवार बन्न पाऊँ भन्दै कमिटीहरूमा नाम लेखाएका छन् । माओवादीबाट पनि झण्डै ७० को हाराहारीमा उम्मेदवार सिफारिस भएका छन् ।
टिप्पणीहरू