विश्वकर्मा पूजाको मूर्ति सेलाउन जाँदा नहरमा खसेर प्रणान्त
सप्तरीमा एक युवकको शव फेला परेको छ । विष्णुपुर गाउँपालिका–६, नहरचोकस्थित हिजो विश्वकर्मा पूजाको मूर्ति सेलाउने क्रममा नहरमा डुबेका युवक आज मृत फेला परेका हुन् ।
हिजो बिहानैदेखि हराएका उनको स्थानीय र प्रहरीले दिनभर खोजी गर्दा पत्तो नलागेपछि खोज्न गएकाहरु साँझ त्यसै घर फर्किएका थिए । आज बिहान सोही नहरदेखि अन्दाजी दुई सय मिटर पश्चिममा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय, सप्तरीबाट खटिएको प्रहरी टोलीले हाल नाम, वतन, ठेगाना नखुलेको अन्दाजी २६ वर्षीय युवकको शव फेला पारेको प्रहरी कार्यलय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
प्रहरीले शवको मुचुल्का उठाइ पोष्टमार्टम गराएको छ । यद्यपि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
टिप्पणीहरू