बाढी पीडितको बिजोग नहोस् : मानवअधिकार आयोग
राष्ट्रिय मानवअधिकार आयोगले बाढी, पहिरो तथा डुबान पीडितहरुको उद्धार, राहत तथा बसोबासको व्यवस्था मिलाउन आग्रह गरेको छ । पीडितहरुको तत्काल उद्धार, राहत, स्वास्थ्योपचार तथा बसोबासको व्यवस्था मिलाउन आयोगले तीनै तहका सरकारलाई आग्रह गरेको छ ।
गत हप्ताको अविरल वर्षाले सुदूरपश्चिम प्रदेशका अछाम, कैलाली, कञ्चनपुर, बझाङ र डडेल्धुरालगायत जिल्लामा ठूलो क्षति पुर्याएपछि सहयोगका लागि आयोगले सरकार गुहारेको हो ।
बाढी, पहिरो एवम् डुबानका कारण ३२ जनाको मृत्यु, ३० जना घाइते, १२ जना बेपत्ता र चार हजार ५१ घरपरिवार विस्थापित भएका थिए । बाढीबाट विस्थापितका लागि गाँस, बासको उचित व्यवस्था हुन नसक्दा कष्टकर जीवन बिताउन बाध्य भएको आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
उसले भनेको छ,‘स्थानीय बासिन्दाको घर डुबानमा परी घरमा रहेका अन्नपात, लत्ताकपडा बगाएको, विस्थापितहरु पशु चौपायासहित स्थानीय सडकमा बसिरहेका, खुला आकाशमुनि बस्नुपरेकोले बालबालिका, वृद्धवृद्धा र असहायहरुलाई समस्या परिरहेको, खाद्यान्नको अभावको कारण चाउचाउ र चिउरा खाएर बसिरहेको जानकारी आयोगलाई विभिन्न स्रोतबाट प्राप्त भएको छ ।’
बाढी पीडितहरु मरेको चौपायासहित अव्यवस्थित रुपमा सडकमा बसिरहेकाले खानेपानी तथा सरसफाईको अभावमा विभिन्न रोग फैलन सक्ने उसको ठहर छ । त्यस्तै, प्राकृतिक विपतबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न रोकथाममा पूर्वतयारी अपनाउन, पूर्व सूचना प्रणालीको व्यवस्थापन गर्नुपर्नेमा पनि उसको जोड छ ।
टिप्पणीहरू