रौतहटको टिकेटमा धनको रमिता

रौतहटको टिकेटमा धनको रमिता

-राजकुमार राय

रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ मा काँग्रेसका दुई खेमाबीच टिकट हत्याउन ‘दाउ अभियान’ शुरु भएको छ । धनाढ्य व्यापारीसमेत रहेका रविन कोइराला र यसअघि प्रतिनिधिसभामा निर्वाचित सांसद देव तिमिल्सिना टिकटका लागि हानथापमा उत्रिएपछि केन्द्रीय नेतासमेत दबाबमा परेका छन् । रविनको पहुँच कोइराला परिवारका दुई हस्ती डा.शेखर र डा. शशांकको भान्सासम्म पुगेपछि त्रसित भएका तिमिल्सिनाले पनि आफ्नो लबिङ कस्दै गएका छन् ।

माहोल पक्षमा पार्न एकले अर्कालाई कमजोर देखाउने र आफ्नो लोकप्रियता सावित गर्न यतिबेला दुवै पक्ष जोडतोडले तल्लिन देखिन्छन् । दुबैले आ-आफ्नो पक्षमा माहोल रहेको देखाउन कार्यकर्ताको भीड जम्मा गर्ने होडबाजी पनि गरिरहेका छन् । गत हप्ता रविनले आफ्नो पक्षमा पचासौँ कार्यकर्ता काठमाडौँ उतारेर नेताको घरघरमा पुर्याएपछि तिमिल्सिनाले पनि रौतहटबाट त्यति नै संख्यामा कार्यकर्ता काठमाडौँ भित्र्याए ।

रविनले जनता परिवर्तनको पक्षमा रहेको र युवा नेतृत्व चाहेकाले तिमिल्सिनाभन्दा आफू अब्बल रहेको दावी गरिरहेका छन् भने आफू तीन पुस्ते काँग्रेसी र समाजसेवीसमेत रहेको जिकिर रहँदै आएको छ । शिक्षा क्षेत्रमा करोडौं लगानी गरेका उनी काँग्रेसको गत महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा वार्डमै पराजित भएका थिए । त्यसका बाबजुद मधेस प्रदेशका पार्टी अध्यक्ष कृष्णा यादव र पूर्वसांसद जितेन्द्र यादवलाई प्रभावमा पारी प्रदेश संसदीय समितिमा मनोनित हुन सफल भएका थिए ।

रविनले आर्थिक चलखेल गरेर केन्द्रमा पनि आफ्नो प्रभाव जमाउने चेष्टा गरेको तिमिल्सिना पक्षको आरोप छ । यही कारण तिमिल्सिनाको पक्षमा आएका कार्यकर्तामध्येका एक महाधिवेशन प्रतिनिधि मुकेश गिरीले डा. शशांकसँगको भेटमा ‘के उसैले तपाईंको घरखर्च चलाइदिएको छ ?’ भनी आक्रोश पोखेको बताइन्छ । जवाफमा पूर्वमहामन्त्रीसमेत रहेका डा.शशांक नाजवाफ भएको भेटमा सहभागी एक नेताले बताए ।

यसैगरी,तिमिल्सिना पक्षका कार्यकर्ताले डा. प्रकाशशरण महत,कृष्ण सिटौलालगायतका शीर्ष नेताहरुको घरमै डेलिगेसन गएर आफ्नो पक्षमा लबिङ बढाएका छन् । रविनले टिकटका लागि ५ करोड खर्चिने र चुनावमा ३० करोडभन्दा बढी खर्च गरेर जित्ने हल्ला फैलाएको आरोप उनीहरुले लगाउँदै आएका छन् । रविनले कोइराला परिवारसँग थर जोडेर निकटता देखाई धनको बलमा टिकट हत्याउन खोजेको तिमिल्सिना खेमाको बुझाइ छ ।

अर्कोतिर रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेल रविनका स्कुले सहपाठी रहेकाले त्यता पनि प्रभाव पार्न सक्ने आशंका अर्को खेमाको छ । तर,रविनले भने पार्टीमा सबैसँग सम्बन्ध हुनसक्ने भन्दै त्यस्ता आरोपको कुनै अर्थ नहुने बताए । जनआस्थासँग भने, ‘म व्यापारी हुँ,कर तिरेको छु । त्यसैलाई आधार बनाएर आरोप लगाउन मिल्दैन । पैसाको भन्दा पनि मैले जनतासंग नजिक भएर काम गरेको छु । त्यसतर्फ किन ध्यान जाँदैन ?’

दुई नेताको लडाईले रनभुल्लमा परेका कांग्रेसका स्थानीय कार्यकर्ता भने पार्टी पराजित हुने चिन्तामा देखिन्छन् । संसदीय कामकारवाहीमा तिमिल्सिनाको भूमिका सह्राहनीय रहेको र जनजीविकासँग पनि भिजेका नेता भएकाले एकपटक उनलाई दोहोर्याउनु उपयुक्त हुने अधिकांश कार्यकर्ताको माग छ ।

तत्कालीन एमाले नेता माधव नेपाल,डा. बंशिधर मिश्र,प्रकाश कोइराला, उद्धव ढकाल,रामकुमार भट्टराई र ०६४ सालमा माधव नेपाललाई हराएका माओवादी नेता देवेन्द्र पटेल यसै क्षेत्रबाट निर्वाचित भएका थिए । त्यसयता यो क्षेत्रमा कोही पनि नदोहोरिएकोले नयाँ चेहरा आउनुपर्ने रविन पक्षको तर्क छ ।

जनताको घर,आँगनमा पुग्न सक्ने भरोशेदार नेता खोजिरहेका त्यहाँका मतदाता यतिबेला कांग्रेसले गर्ने निर्णय रुचिपूर्वक हेरिरहेका छन् ।

टिप्पणीहरू