अस्पताल र सडकले वर्षमानको टाउको दुःखाएपछि

अस्पताल र सडकले वर्षमानको टाउको दुःखाएपछि

गृह जिल्लाका दुई वटा महत्वपूर्ण आयोजनाले माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ लाई गिज्याएको छ । कुनै समय माडी खोला अर्थात् घरछेउको पुल बेलैमा नबन्दा नेता पुनको टाउको दुखाइको विषय बन्यो ।

करिब एक दशकमा बनेको ’माडी खोलाको पुल निर्माण जति वर्ष अलपत्र भयो, त्यो वर्षमानकै कारण भएको हो’ भन्ने रोल्पालीको बुझाइ छ । पुल त बन्यो तर नेता पुनको टाउको दुःखाउने आयोजना भने फेरि थपिँदै गए । ती हुन्, रोल्पा अस्पताल भवन र सिमलबाङ–दार्बाेट सडक ।

यी आयोजना पनि लामो समयदेखि अलपत्र अवस्थामा छन् । वर्षमान गृह जिल्ला पुगेको बखत जिल्लावासीको एउटै प्रश्न हुन्छ ‘अस्पताल भवन र सडक कहिले बन्छ ?’

स्थानीय तह निर्वाचनमा जिल्ला पुगेका पुनले गत असार मसान्तसम्म कुर्न आग्रह गरेको बताइन्छ । असारसम्मको म्याद सकिए पनि न अस्पताल भवन बन्यो न सिमलबाङ–दार्बाेट सडक नै ।

अब पुनः प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको चटारोमा सबै जना देखिन्छन् । त्यसबारेको नयाँ जवाफ दिन वर्षमानलाई धर्म संकट भएको माओवादीकै स्थानीय नेता तथा कार्यकर्ताले बताए । स्थानीय चुनावमा पार्टीका उम्मेदवारलाई जिताउने चुनौती उनलाई थियो । यसपटक आफैं उम्मेदवार बन्ने सम्भावना प्रवल छ । यस्तो बेलामा उनले खेल्ने चलाखीपूर्ण व्यवहारको जवाफको प्रतिक्षामा आमसर्वसाधारण रहेको बताइन्छ ।

ठेकेदार ‘कनेक्सन’

माडी पुल निर्माणको जिम्मा पाएको ठेकेदारले काम अलपत्र पारेको विषयमा स्थानीयले उनै नेतासँग पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरेपछि स्थानीय हैरान भएका थिए । प्यूठानका ठेकेदार बसन्त डिसीले पनि वर्षमानसँग काठमाडौंमा आफ्नो उठबस हुने गरेको बताउँदै अरुलाई टारिदिएका थिए ।

त्यस्तै, अहिले अस्पताल भवन र सडक बनाउने जिम्मा रोल्पाकै ठेकेदार खगेन्द्र बुढाले पाएका छन् । उनले पनि माडी पुलकै ठेकेदारले झैं जिल्लाका नेता, कर्मचारी,प्रशासन र स्थानीयलाई कुनै टेरपुच्छर नलगाएको आरोप छ ।

मुख्य ठेकेदार बुढाले पेटी ठेकेदारको कारण देखाउँदै दुई वर्षअघि निर्माण हुनुपर्ने ती आयोजनाहरू हालसम्म पनि अलपत्र पारेको रोल्पालीको बुझाइ छ ।

सिमलबाङ–दार्बाेट सडक निर्माण थाल्ने क्रममा बुढाले नाताले वर्षमानकै भाइ पर्नेहरूलाई पेटी ठेकेदारको जिम्मा दिएका हुन् । पछि पूर्वमन्त्री पुनको संलग्नता भएको उल्लेख गर्दै व्यापक आलोचना भएपछि पेटी ठेकेदारबाट वर्षमानका भाइ पछि हटे । तर सडक बन्ने सम्भावना कहिल्यै नदेखिएको उनीहरुको भनाइ छ ।

निरीह प्रशासन

जिल्लाका यी ठूला आयोजनाहरू वर्षाैंदेखि अलपत्र हुँदा पनि जिल्ला प्रशासन कार्यालय भने निरीह बनेको छ ।

जिल्लामा धेरै सिडिओ फेरिए तर यो विषयमा खरो रूपमा कुर्लेपनि उनीहरुले केही गर्न सकेनन् । जिल्लामा पुगेका सिडिओले शुरुका दिनमा केही चासो देखाए पनि पछि क्रमशः मौन बसेपछि विषय ओझेलमा परेको हो ।

एकजना सिडिओले यसमा ठूलो नेताकै संलग्नता भएकाले आफूले केही गर्न नसक्ने अनौपचारिक रूपमा सुनाएको स्थानीय सञ्चारकर्मीले बताए । ‘मैले धेरै के भन्नु’ ती सिडिओले भनेका थिए, ‘यसबारेमा माथिकै सेटिङ छ, यसमा हामीले चाहेर केही गर्न सक्दैनौ,’ सञ्चारकर्मीले उल्लेख गरे ।

जिल्लाका सबैजसो सरोकारवालालेसमेत यसमा नेता पुनकै संलग्नता भएकाले ठेकेदार कसैले नटेर्ने गरेको बताएका छन् । यी मुद्दालाई बोकेर विपक्षी उम्मेदवारले आगामी निर्वाचनमा नेता वर्षमानविरूद्ध चर्को आवाज उठाउने तयारी गरेको पाइन्छ । यस्तो अवस्थामा माओवादी नेताहरूले उनै नेताको कसरी संरक्षण गर्लान् त्यो भने हेर्न बाँकी छ ।

टिप्पणीहरू