बालकोटमा अध्यक्ष भेट्न उपाध्यक्षसहित ३ बोत्तल

बालकोटमा अध्यक्ष भेट्न उपाध्यक्षसहित ३ बोत्तल

एमाले अध्यक्ष केपी शर्मा ओली हिजो एकै दिन तीन ठाउँमा विजया दशमीको टीका र जमरा ग्रहण तथा प्रदान कार्यक्रममा सरिक हुनुभयो । दुई दिनअघि गृह जिल्ला झापा जानुभएका उहाँले विजया दशमीको टीका र जमरा पहिले साइतभित्रै उतै लगाउनुभएको थियो ।

झापाबाट फर्केपछि दिउँसो शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका तथा जमरा लगाउनुभयो । त्यताबाट बालकोट फर्केर पार्टीका नेता,कार्यकर्ता तथा शुभेच्छुकलाई साँझ टीका लगाउन थाल्नुभयो ।

तीन दिन सुनसान भएको बालकोट निवासमा हिजो साँझदेखि एक्कासी चहलपहल बढेको देखियो । हिजो साँझ अध्यक्ष ओलीले सबैभन्दा पहिले उपाध्यक्ष विष्णु पौडेललाई टीका लगाइदिनुभयो ।

त्यसपछि उपाध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङ टीका लगाउन बालकोट पुग्नुभयो । नेम्वाङ बालकोट छिर्दा उहाँका अंगरक्षक (पीएसओ) ले झोलामा ३ बोत्तल लेबलवाला ‘सगुन’ बोकेर लगेको प्रत्यक्षदर्शीको भनाइ छ । नेम्वाङ आफू रेडवाइनबाहेक ह्विस्की पिउने गर्नुहुन्न ।

यही मेसोमा मेडिकल कलेज,वीरगन्जका सञ्चालक बसरुद्धिन अन्सारी पनि टीका लगाउन गएको बताइन्छ । बालकोट पुग्दा बसरुद्धिनको निधार खाली देखिएकाले उनले दिउँसो शीतल निवासमा टीका तथा जमरा लगाउन नगएको स्वतः पुष्टि भएको उपस्थित सहभागीहरुले लख काटेका थिए । बसरुद्धिनले टीका लगाउँदा नलगाउँदै हालै एमाले प्रवेश गरेका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल,स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पनि टीका लगाएको बताइन्छ ।

बालकोटमा टीका लगाउँदा दक्षिणास्वरुप २० वर्षभन्दा मुनिकालाई एक सय रुपैयाँ र त्यस माथिकालाई एउटा स्याउ दिइएको थियो । सय रुपैयाँ अध्यक्ष आफैँले दिए पनि स्याउ भने नजिकै राखिएको कार्टुनबाट सहयोगीले दिएको देखिन्थ्यो ।

हिजो साँझ ७ बजेको हाराहारीमा करिब एक सय जना जति अध्यक्ष ओलीको निवासभित्र र १५ वटा सवारी साधन बाहिर देखिन्थे ।

सोही क्रममा बसरुद्धिनले हालका वनमन्त्री प्रदीप यादवले साइकल चोरेको सन्दर्भ निकालेका थिए । यादवले धेरै पहिले वीरगञ्जमा साइकल चोर्ने गरेकोवारे बसरुद्धिनले पूर्व आइजीपी खनालसँग कुरा कोट्याएका थिए । प्रत्युत्तरमा खनालले त्यतिखेरसम्म बसरुद्धिनले गाडी चोर्ने हैसियत बनाएको उल्लेख गरे । किनभने खनाल पहिले वीरगञ्जमा एसपीको जिम्मेवारीमा थिए ।

चुनावको सन्दर्भमा कुरा उठ्दा सर्वेन्द्रले बारा र पर्साको प्रसङ्ग कोट्याए ।त्यहाँका सर्वसाधारणले भेट्दा आफूलाई राम्रो रेस्पोन्स गरेको बताइनुले उनको आशय बारा र पर्साबाट प्रत्यक्ष चुनावमा प्रतिस्पर्धा गर्ने चाहना रहेको अनुमान लगाइएको छ ।

टीका लगाउने क्रममा अध्यक्ष ओलीले अधिकांशलाई आर्शिवादको रुपमा आगामी निर्वाचनमा सफलताको शुभकामना दिनुभएको थियो । टीकाको प्रक्रिया अघि बढेकै बेला काठमाडौं महागरपालिकाकी उपमेयर सुनिता डंगोल पनि बालकोट पुगेको त्यहाँ उपस्थित एक जना सहभागीले बताए । डंगोल पुगेको एक छिनमै इजरायलका लागि पूर्व राजदूत अञ्जन शाक्य पनि ‘बा’ को हातबाट टीका थाप्न पुगेकी थिइन् ।

टिप्पणीहरू