सिंगापुर एअरलाइन्सका महिला परिचारिकामाथि अष्ट्रेलियामा यौन हिंसा

सिंगापुर एअरलाइन्सका महिला परिचारिकामाथि अष्ट्रेलियामा यौन हिंसा

अष्ट्रेलियाको मेलबर्नमा सिंगापुर एअरलाइन्सका दुई महिला परिचारिकामाथि यौन दुर्व्यवहार भएको छ । उनीहरुमाथि त्यहाँको एउटा होटल छिर्ने बेलामा यौन हिंसाको आशयले दुर्व्यवहार भएको बताइएको छ ।

उनीहरु दुबैलाई घाउचोट लागेको छ । उनीहरुमाथि आइतबार सिंगापुरबाट मेलबर्न पुगेपछि उक्त घटना भएको हो । यौन हिंसापछि उनीहरुको होटलमा नै सामान्य उपचार गरिएको एअरलाइन्सका प्रवक्ताले जानकारी दिएका छन् । त्यसपछि थप उपचारको लागि नजिकैको अस्पतालमा लगिएको जानकारी दिइएको छ ।

लगत्तै सिंगापुर फर्केपछि गत सोमबारदेखि उनीहरु घरमा आराम गरिरहेका छन् । विमान कम्पनीले उनीहरुलाई आवश्यक पर्ने सबै खालका सहयोग र समर्थन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

मेलबर्न प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । सिंगापुर एअरलाइन्सले पनि आफूहरु प्रहरीको अनुसन्धानमा सक्रिय रुपले सहभागी भएको बताएको छ ।

ती महिला विमान परिचारिकाहरुमाथि भएको दुर्व्यवहार र भौतिक आक्रमणको प्रकृतिबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

टिप्पणीहरू