बालकृष्ण न्यौपानेद्वारा प्रकाशमान,रवीन्द्र मिश्र र किरण पौडेलको उम्मेदवारी खारेजीको माग
काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा संघीय संसदको निम्ति उम्मेदवार रहेका नेपाली काँग्रेस, एमाले र राप्रपाका उम्मेदवारको मनोनयन दर्ता खारेजीको माग गर्दै उजुरी परेको छ । सोही क्षेत्रबाट उम्मेदवार रहेका नेपालका लागि नेपाली पार्टीका बालकृष्ण न्यौपानेले उनीहरुको मनोनयन रीतपूर्वक नभएको दाबी गर्दै खारेजीको माग गरेका हुन् ।
न्यौपानेले काँग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेल र राप्रपाका रवीन्द्र मिश्रले हिजो उम्मेदवारी दर्ता गर्ने क्रममा निर्वाचन आयोगले तोकेबमोजिमको कानुनी प्रक्रिया पूरा नगरेको उनको भनाइ छ । अनुसूची ७ बमोजिम दर्ता फाराम भरेर उम्मेदवारी पेश गर्नुपर्नेमा तीनै जनाले आफ्नो दलको लेटर प्याडमा लेखिएको विवरणको आधारमा मनोनयन दाखिला गरेकाले खारेज गर्नुपर्ने उनको माग छ ।
त्यसैगरी सोही निर्वाचन क्षेत्रको प्रदेश ‘ख’ मा उम्मेदवार रहेका काँग्रेसका सुरजचन्द्र लामिछाने र एमालेका गणेशप्रसाद दुलालले पनि अनुसूचीबमोजिमको फाराम नभरेको उजुरी परेको छ । उनीहरुको विरुद्धमा पनि नेपालका लागि नेपाली पार्टीका प्रदेश सभा सदस्यमा उम्मेदवार रहेका नमराज कार्कीले लिखित उजुरी हालेका हुन् ।

टिप्पणीहरू