हिजो तालाबन्दी गरिएको एमाले कार्यालयमा आज कमल थापाको सम्बोधन

हिजो तालाबन्दी गरिएको एमाले कार्यालयमा आज कमल थापाको सम्बोधन

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमाले मकवानपुरका जनसंगठनका प्रतिनिधिहरुबीचको अन्तरक्रियालाई आज सम्बोधन गरेका छन् । उनले हेटौँडा ५, सानोपोखरास्थित एमाले पार्टी कार्यालयमा पुगेर सम्बोधन गरेका हुन् ।

मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा सूर्य चुनाव चिन्हबाट उम्मेदवार बनाइएका थापाविरुद्ध हिजो एमाले कार्यकर्ताले कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।

तर, रातारात केही अगुवा एमालेजनसँग सम्बन्ध सुधारका लागि घरभेट गरेका थापा आज एकाएक एमाले कार्यालयमा पुगेर सम्बोधन गरेका हुन् । एमाले कार्यकर्तालाई सम्बोधन गर्दै उनले केपी ओलीसँग २०७२ सालमा मन्त्रीपरिषदमा सहकार्य गर्दाका अनुभवहरु सगर्व सुनाएका छन् ।

‘लिम्पियाधुरालाई नेपालको नक्सामा राख्न वैधानिक रुपमा भूमिका खेल्नु भएका ओलीको कदम ऐतिहासिक थियो’, थापाले सम्बोधनमा भनेका छन्, ‘राष्ट्र र राष्ट्रिय स्वाधीनताका पक्षमा त्यसबखत हामीले एकरत्ति पनि विश्वासघात गरेनौँ ।’

उनले आफू एमाले परिवारको सदस्य हुन पाएकोमा गर्व लागेको समेत सुनाए । मकवानपुरका २ वटा प्रतिनिधिसभा क्षेत्रसहित ४ वटै प्रदेश सभामा सूर्य ध्वजावाहक उम्मेदवारले जित्ने उनले दाबी गरेका छन् । थापाले देशभर एमालेलाई अफ्ठ्यारो पर्दा मकवानपुरबाट एमालेलाई बचाउन आफू अघि सर्नुपरेको भन्दै कमल कसैको भाग खोस्न नआएको बताए । उनले भने, ‘म एमालेजन र राष्ट्रवादीहरुको अस्तित्व जोगाउनका लागि यो ठाउँमा उभिएको हुँ ।’

कार्यक्रममा एमालेका भूमिगतकालका पुराना नेताहरुसमेत सहभागी थिए । मञ्चमा बागमती प्रदेशका पूर्व राज्यमन्त्री जुनेली श्रेष्ठसहित अनन्त पौडेल, राष्ट्रिय सभा सांसद रामचन्द्र राई, एकालाल श्रेष्ठ, श्रीधर पोखरेल, देवराज रिमाल, इन्द्र नेपाल थिए । माओवादीबाट स्थानीय तहको चुनावअघि एमाले प्रवेश गरेका नेता बलराम बल, निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार महेश बर्ताैला लगायत पनि थिए ।

थापाको सम्बोधन सुने पनि अधिकाँश नेता उत्साहित थिएनन् । सभाहलमा सहभागी केहीले थापाको भाषणमा बीच बीचमा ताली बजाएका थिए । एमाले केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज रामेश्वर रानाको टिकट खोसेर अध्यक्ष ओलीले थापालाई टिकट दिएपछि मकवानपुर एमाले तरंगित छ ।

टिप्पणीहरू