टिकट खोसिने ‘१० भाइ समूह’ का अर्का नेताको भावुक कविता

टिकट खोसिने ‘१० भाइ समूह’ का अर्का नेताको भावुक कविता

प्रतिनिधिसभा विघटनको विरोध र विगतमा माधव नेपाललाई साथ दिएकोमा पार्टी नेतृत्वबाट टिकट खोसिएका पूर्वमन्त्री तथा एमाले नेता पुरुषोत्तम पौडेलले भावुक प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमा ‘मलाई कुनै दुःख छैन’ शीर्षकको कविता पोष्ट गर्दै उनले टिकटका लागि तुच्छ सम्झौता नगरेकै कारण छनोटमा नपरेको गुनासो गरेका छन् ।

एमालेमा ‘१० भाइ समूह’ भनेर चिनिने १० बुँदे पक्षधर नेता पौडेलले आफू विचार,सिद्धान्त र निष्ठामा प्रतिवद्ध रहेको र चाकरी,चाप्लुसी नगरेका कारण नेतृत्वको रोजाईमा नपरेको भाव झल्किने कविता लेखेका हुन् । उनले चुनावको टिकट नपाए पनि आफू जनताकै वीचमा रहेको र सुख दु:ख साँटिरहेको उल्लेख गरेका छन् ।

पौडेल बारा क्षेत्र नं. १ बाट टिकटको आकांक्षी थिए । जिल्ला र क्षेत्रले उनको नाम सिफारिस पनि गरेको हो । तर, केन्द्रको रोजाईमा नपर्दा उम्मेदवार हुन सकेनन् । एमाले र जसपाबीच सीट तालमेल हुँदा पौडेललाई पाखा पार्नैका लागि सो क्षेत्र जसपाको भाग लगाइएको जानकारहरु बताउँछन् ।

जसपा अध्यक्ष उपेन्द्र यादवले मन्त्री राजेन्द्र श्रेष्ठलाई काठमाडौँ-७ दिन अन्तिमसम्म ओलीलाई प्रस्ताव गरेका थिए । तर,एउटा तीरले दुई शिकार गर्न माहिर ओलीले राजेन्द्र र पुरुषोत्तम दुबैलाई उम्मेदवार हुन नदिने उद्धेश्यले काठमाडौँ-७ छोडे बारामा १ सीट थपिदिने प्रस्ताव गरेपछि सोहीअनुसार सीट भागबण्डा मिलेको बताइन्छ ।

यस्तो छ पुरुषोत्तम पौडेलको कविता :

मलाई कुनै दुःख छैन ।
——-++++++——
मलाई कुनै दुःख छैन ।
मलाई पीर ताप पनि लाग्दैन ।
कसैसंग आग्रह र विग्रह पनि छैन ।
कुनै गुनासो गरेर फाइदा पनि छैन ।
यसैले मलाई कुनै दुःख छैन ।
म उनको छनौटमा परिन ।
म त जनताको वीचमा छु ।
पृय साथीहरुकै साथमा छु ।
प्रेम र सद्भाव बाँडिरहेको छु ।
केवल सुख दु:ख साँटिरहेको छु ।
यसैले मलाई कुनै दुःख छैन ।
म उनको छनौटमा परिन ।
म त आफ्नै काम गरिरहेको छु ।
साथीहरुलाई सघाई रहेको छु ।
दुखी गरिवका घरमा रमाइरहेछु ।
नेपाल र नेपालीको सेवा गर्दैछु ।
यसैले मलाई कुनै दुख छैन ।
म उनको छनौटमा परिन ।
मैले विचार र सिद्धान्त छोडिन ।
आफ्नो स्वत्व र आचार तोडिन ।
विधि,पद्दति र संस्कार छोडिन ।
तुच्छ स्वार्थको लागि सम्झौता गरिन ।
यसैले मलाई कुनै दुःख छैन ।
म उनको छनौटमा परिन ।
कहिल्यै कसैलाई धोखा दिइन ।
दलाली गरेर भाग बुझाउन हिँडिन ।
कमिसन खान र कमाउनतिर लागिन ।
पार्टीको टिकटमा मोलमोलाई गरिन ।
यसैले मलाई कुनै दुःख छैन ।
म उनको छनौटमा परिन ।।।
मैले दलालहरुसंंग संगत गरिन ।
तस्कर,ठगहरुसंग उठवस गरिन ।
जाली फटाहाहरुसंग कहिल्यै लागिन ।
राजनैतिक ठगहरुसंग लेनदेन गरिन ।
यसमा मलाई कुनै दु:ख छैन ।
म उनको छनौटमा परिन ।।
चाकरीमा म कमजोर भएँ ।
सधैं सेवामा हाजिर हुन सकिन ।
चौठीमा तेल लिएर घर घरमा गइन ।
जनताको कामले मलाई छुट्टी भएन ।
यसमा मलाई कुनै दुःख छैन ।
म उनको छनौटमा परिन ।।।

टिप्पणीहरू