सर्वेक्षणका नाममा कसले जित्ने,कसले हार्ने भनेर तोक्न नपाइने
सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल वा उम्मेदवारका मत सर्वेक्षण गर्ने व्यक्तिलाई निर्वाचन आयोगले कारबाही गर्ने भएको छ ।
निर्वाचन आचारसंहिताको अवज्ञा गर्दै दल वा उम्मेदवारको मत सर्वेक्षण र सार्वजनिक गर्ने जो कोहीलाई कारबाही गर्ने चेतावनी आयोगले दिएको छ । आयोगले आज विज्ञप्ति जारी गरेर मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामको सम्बन्धमा सर्वेक्षण वा सार्वजनिक गर्न नपाइने विषय स्मरण गराएको छ ।
‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त) मा उम्मेदवारको मनोनयन पत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने स्पष्ट उल्लेख गरिएको’, विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै,आचारसंहिताको दफा ४ को (थ) मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न,कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेको सामग्री शेयर गर्न नहुने व्यवस्था रहेको सुसूचित गराइएको छ ।
कसैले व्यवस्थाविपरीत कार्य गरेमा कानूनबमोजिम कारबाही अघि बढाइने आयोगले जनाएको छ ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहिता २०७९ लागू भइसकेकाले आचारसंहिताविपरीत कार्य नगर्न आयोगले बारम्बार सचेत गराउँदै आएको छ ।
टिप्पणीहरू