मेयरका आँखा पुगेनन् कुलेश्वर र कालिमाटीतिर

मेयरका आँखा पुगेनन् कुलेश्वर र कालिमाटीतिर

मुलुकको संघीय राजधानी काठमाडौँमा अग्ला घर र भवनहरु बन्ने क्रम तीब्र छ । अग्ला होटल तथा अपार्टमेन्टको निर्माणसँगै उपत्यकाको स्वरुप पनि क्रमशः फेरिँदै गएको छ ।

उपत्यकामा बस्ती फैलने क्रमसँगै भवन अग्लिन थालेको छ । बदलिएको काठमाडौँ र अग्लिँदै गरेको भवनलाई नजिकैका अग्ला स्थानबाट प्रत्यक्ष देख्न सकिन्छ ।

कतिपय अग्ला सरकारी भवन,सपिङ कम्प्लेक्स, कर्पोरेट अफिस र होटलहरु अझै निर्माणको क्रममा छन् । अग्ला भवनहरुमध्ये काठमाण्डौ महानगरपालिका १४ र १३ का कालिमाटी, कलंकी र कुलेश्वरमा पनि धेरै छन् ।

अग्ला भवनको जमिनमुनि तीन तल्लासम्म बनाइएको छ । तर ती सबैलाई पसल र गोदामका रूपमा प्रयोग गरिएको छ । विशेषगरी पार्किङको निम्ति बनाइएका ती स्थान मासिक भाडा बुझ्ने हिसाबले भाडामा लगाएको पाइएको हो । स्थानीय गृहस्थ भवन आठ तलाको छ । त्यसको भुईं तल्लादेखिको कोठालाई व्यापारिक र व्यवसायिक प्रयोजनमा लगाइएको छ ।

त्यस्ता भवनमा सर्वसाधारणको धेरै आवतजावत हुने बैंक तथा वित्तीय संस्थालगायत कार्यालय राखिएको पाइन्छ । तर सवारी साधनमा चार पाङ्ग्रेको कुरै छाडौं मोटरसाइकल, साइकलसमेत पार्किङ गर्ने ठाउँ छाडिएको पाइन्न । यता काठमाडौं महानगरपालिकाले दशैं अगाडि विशेषगरी न्यूरोडलगायत मुख्य व्यापारिक क्षेत्रका भवनमा भुइँ तल्ला र अण्डरग्राउण्डमा पार्किङस्थल नछाडेको भन्दै डोजर लगाएको थियो । तर, कुलेश्वरलगायत महानगरका धेरै क्षेत्रमा ठडिएका त्यस्ता भवनबारे महानगरपालिका मौन बसेको आरोप लाग्न थालेको छ ।

कुलेश्वरस्थित मेट्रो भवनका सञ्चालक तथा घरधनी गोपालप्रसाद गुप्ता हुन् । उनका अनुसार अपार्टमेण्टमा ५८ परिवार बस्छन् । सरकारी कर तिर्दै मापदण्डअनुसार भवन निर्माण गरिएको उनको दावी छ । २०७२ सालको भूकम्पमासमेत खासै असर नपुगेकाले अधिकांश अझै सोही भवनमा बसेको गुप्ता बताउँछन् । तर, पर्याप्त पार्किकङस्थलबारे उनले खासै प्रतिक्रिया दिन चाहेनन् ।

त्यस्तै काठमाण्डौ महानगरपालिका १३, कालिमाटीमा रहेको पार्किङसमेतको १० तले व्यापारिक कम्प्लेक्स पनि अर्को बहुतल्ले भवन हो । कृषि विकास बैंकलगायत १६ वटा पसल तथा कार्यालय रहेको उक्त भवनको पार्किङबारे सञ्चालक केशव रौनियारले कार्यालय खुलेको दिन र समयमा मात्र आवश्यक जानकारी दिन सकिने बताए ।

कुलेश्वर क्षेत्रकै ग्रासनिष्ता भवन पनि ठूलामध्येको एक हो । उक्त भवनमा २० वटा मोबाइल तथा अटो पार्ट्स रहेको बताइन्छ । यसबारे बुझ्न खोज्दा धरधनी शिलु मानन्धरको फोन नम्बर ९८४१२५९१७३ मा सम्पर्क हुन सकेन ।

उता १४ खसीबजार, मदनगरमा बन्दै गरेको नौ तले भवन एउटा इन्जिनियरिङ कलेजको हो । उक्त भवनबारे बिकोइ निर्माण सेवाका गोविन्द बस्नेतलाई ९८४३४२१७८५ नम्बरमा सम्पर्क गर्दा अरुले फोन उठाए पनि भवनबारे जानकारी दिन चाहेनन् ।

उपत्यकाको धेरै क्षेत्रमा बस्ती विस्तार हुँदा हरिया फाँटहरु मासिएर आधुनिक शहर बनेको छ । एकातिर खेतीयोग्य जमिन नष्ट भएको छ, अर्कोतिर नक्सा पासको क्रममा स्वीकृत मापदण्डबमोजिमको भवन नबनाइएको देखिन आएको छ । अन्यत्र नक्सा माग्दै हिँडेका मेयरले कालिमाटीमा नमागेपछि न्यूरोडका व्यापारीले गिज्याएका छन् ।

टिप्पणीहरू