गृहसचिवद्वारा उपराष्ट्रपतिको नाममा उर्दी,प्रवक्ता भन्छन् : ‘सँधै यस्तै हो’

गृहसचिवद्वारा उपराष्ट्रपतिको नाममा उर्दी,प्रवक्ता भन्छन् : ‘सँधै यस्तै हो’

गृह मन्त्रालयले हिजो उपराष्ट्रपति कार्यालयलाई एउटा पत्र पठाएको छ । गृह सचिव विनोदप्रकाश सिंहले उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रपति विद्यादेवी भण्डारीको आज साँझ विदेश प्रस्थान र आगामी शनिबार बिहान स्वेदश फिर्ता कार्यक्रममा उपस्थित हुन पत्र लेखेका हुन् ।

पत्रमा तोकिएकै समयमा उपस्थित हुन उपराष्ट्रपति पुनलाई अनुरोध गरिएको छ । आज बेलुकी पाँच बजेर ५० मीनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति भण्डारीको प्रस्थान कार्यक्रम छ । सोही कार्यक्रममा उपस्थित हुन उपराष्ट्रपति पुनलाई पत्रमार्फत भनिएको हो ।

आगामी शनिबार बिहान राष्ट्रपति स्वदेश फिर्ता हुने कार्यक्रम रहेकाले बिहान ७ बजेर ३५ मीनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुपर्ने ब्यहोरा पनि सोही पत्रमा उल्लेख छ । संवैधानिक हिसाबले दोस्रो वरियतामा रहेको उपराष्ट्रपति पदलाई गृहले सोझै व्यक्ति उल्लेख गरेर पत्र लेख्ने हो वा कार्यालयलाई जानकारी गराउने भन्नेबारे दुईथरी धारणा देखिन्छ ।

एकथरीले राष्ट्रपतिको निर्देशअनुसार राष्ट्रपतिको कार्यालय बाहेक उपराष्ट्रपतिलाई सोभन्दा मुनिको दर्जाका अधिकारीले सोझै सम्बोधन गरेर औपचारिक पत्र लेख्न नमिल्ने बताएका छन् । अन्य कार्यालय तथा निकायले उपराष्ट्रपतिको कार्यालय वा निजी सचिवालयलाई सम्बोधन गरेर पत्र लेख्नुपर्ने उनीहरुको धारणा छ । गृहका अधिकारीहरुले भने यसबारे बोल्न चाहेनन् ।उपराष्ट्रपति कार्यालयका सूचना अधिकारी हेमराज तामाङले विगतदेखि नै यसरी नै पत्र आउने गरेको जानकारी दिए । यसअघि पनि सचिवले नै उपराष्ट्रपतिको नाममा पत्र लेख्ने गरेको उनी बताउँछन् । ‘गृहले पठाएका सबै पत्र यस्तै हो,सँधै यसरी नै पत्र आउने गरेको छ ,’ उनले भने ।

उपराष्ट्रपतिको नाममा सोझै पत्र लेख्न मिल्ला ? भनेर जनआस्था संवाददाताले सोधेको जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘गृह मन्त्रालय आफैं मानमर्यादामा सबैभन्दा धेरै चल्ने मन्त्रालय हो,नियमभित्रै रहेर लेखेको होला ।’

राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज गणतन्त्र आइसल्याण्ड जाँदै हुनुहुन्छ । उहाँ कात्तिक २६ गते फर्किने कार्यक्रम छ ।

टिप्पणीहरू