नयाँ राष्ट्रिय निकुञ्जको नाम मेरापिक होइन, ‘महाकुलुङ’ राखौं !
नेपालमा अर्को एउटा राष्ट्रिय निकुञ्ज थपिँदैछ । प्रस्तावित सो राष्ट्रिय निकुञ्जको नाम ‘मेरापिक राष्ट्रिय निकुञ्ज’ भनिएको छ । तर, त्यसको नाम ‘मेरापिक राष्ट्रिय निकुञ्ज’ नभएर, ‘महाकुलुङ राष्ट्रिय निकुञ्ज’ हुनुपर्छ भन्ने ‘महाकुलुङबासीहरुको माग’ छ ।
नयाँ राष्ट्रिय निकुञ्ज नेपालको १३ औं राष्ट्रिय निकुञ्ज हुनेछ भने, यो निकुञ्ज सोलुखुम्बु जिल्लाको ‘महाकुलुङ गाउँ पालिकाको अधिकांश क्षेत्र’ लाई समेटेर घोषणा हुँदैछ । यसरी ‘महाकुलुङ क्षेत्र’ लाई अलग्गै समेटेर नेपालको १३ औं राष्ट्रिय निकुञ्ज घोषणा हुँदै छ । यसअघि ‘महाकुलुङ क्षेत्र’ का केही भागलाई ‘मकालु बरुण राष्ट्रिय निकुञ्ज’मा समेटिएको थियो ।
मकालु बरुण राष्ट्रिय निकुञ्जमा रहँदा महाकुलुङबासीका लागि केही परिआएमा कार्यालय जान धेरै टाढा र अपायक थियो । हुन पनि मकालु बरुण राष्ट्रिय निकुञ्जमा जान र आउनका लागि मात्रै कम्तीमा एक साता छुट्याउनुपर्ने हुन्थ्यो । स्मरणरहोस्, मकालु बरुण राष्ट्रिय निकुञ्जको कार्यालय संखुवासभा जिल्लाको सेदुवा भन्ने ठाउँमा छ ।
‘महाकुलुङ क्षेत्र’ लाई अलग्गै निकुञ्ज बनाउन धेरै पहिलेदेखि पहल भएको पनि हो । तर, स्थानीय महाकुलुङबासीले ‘मेरापिक राष्ट्रिय निकुञ्ज’ का नाममा स्थापना हुने गरी नेपाल सरकारसमक्ष प्रस्ताव–प्रतिवेदन पेश भएको थाहा पाउने बित्तिकै निकुञ्जको नाम ‘मेरापिक राष्ट्रिय निकुञ्ज’ होइन, ‘महाकुलुङ राष्ट्रिय निकुञ्ज’ हुनु पर्छ भनेर आवाज उठाइरहे, लबिङ गरिरहे ।
‘महाकुलुङ राष्ट्रिय निकुञ्ज’ नसके कम्तिमा ‘मेरापिक महाकुलुङ राष्ट्रिय निकुञ्ज’ वा ‘महाकुलुङ मेरापिक राष्ट्रिय निकुञ्ज’ नाम हुनुपर्छ भनी जोडदार माग गरेका छन् । सकेसम्म ‘महाकुलुङ राष्ट्रिय निकुञ्ज’ नाम भएमा उत्तम हुने छ । किनभने, विश्वका जुनसुकै जातजातिको पनि उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि हुन्छ । अझ आदिवासीका लागि पहिलो शर्त नै उनीहरुका पिता पूर्खाहरुले परपरम्पादेखि बस्दै आएको, ऐतिहासिक भूमि हुनुपर्ने हुन्छ । जुन कुरो महाकुलुङवासीमा छ ।
स्थानीय महाकुलुङ भूमिमा बसोबास गर्दै आएका कुलुङ जाति स्वयम् हजारौं वर्षदेखि त्यस क्षेत्रमा छन् । उनीहरुका पिता, पूर्खाले आदि अनादिकालदेखि खाईखेली आएको वन–जंगल, खोला–नाला, भस्मे, खोरिया, ढाँड, अरुको भन्दा फरक र छुट्टै मातृभाषा, चाडपर्व, रहनसहन, संस्कार, संस्कृति, रीतिथिति, चालचलन, भेषभूषा, मूल्य, मान्यता, धर्म, जीवनचक्र, परम्परागत कानुन, हामी कुलुङ हौं भन्ने भावना, आफैंभित्र (कुलुङ–कुलुङबीचमै) विवाह गर्ने प्रचलन आदि भएका जाति हुन् ‘कुलुङ ।’
नेपालका प्राचीन जातिमा पर्ने किराती महाजातिभित्रका एक जाति कुलुङका बारेमा छोटो चर्चाको प्रयास गर्दै कुलुङ जातिको उद्गम–थलो ‘महाकुलुङ’ भूमिलाई “महाकुलुङ सम्पदा पदयात्रा मार्ग (‘महाकुलुङ हेरिटेज ट्रेल’)” को रुपमा पनि विकास गर्नुपर्ने देखिन्छ । किनभने रसुवा जिल्लामा “तामाङ सम्पदा पदमार्ग/तामाङ हेरिटेज ट्रेल” निर्माण गरिएको छ । जुन सम्पतामार्ग सफलता पूर्वक चलेको छ ।
पुरानो भगौलिक विभाजनअनुसार सगरमाथा अञ्चल (हाल १ नम्बर प्रदेश) को सोलुखुम्बु जिल्लाको उत्तर–पूर्वी क्षेत्रमा रहेको छेस्खाम, बुङ, गुदेल सत्तो (सोताङ), पावै आदि गाविसहरुलाई ‘महाकुलुङ भूमि’ को रुपमा चिनिन्छ । हुन पनि अहिले किरात संवत् (यले दोङ–५०८२) चल्दै छ भने कुलुङ समुदायको जीवनचक्रअनुसार गएको पुस १५ गतेदेखि यले दोङ ५०८२ सुरु भएको हो । त्यस्तै कुलुङ जातिको जीवन चक्रअनुसार पहिलो महिनाको नाम ‘चाक्चाकूर’ हो । उदाहरणका लागि भन्नु पर्दा विक्रम संबतको पहिलो महिनाको नाम ‘बैशाख’ भने झंै ।
त्यस्तै केही वर्ष अघिदेखि ‘महाकुलुङ’ क्षेत्र (गापा) को गुदेलमा आन्तरिक विमानस्थल बनाउनका लागि पहल भइहको छ । त्यसका लागि सर्भेको काम र स्थानीयवासीका लागि पूर्व सुसूचित हुने अधिकारका लागि (सूचना निकाल्ने काम) समेत भइसकेको छ । लामो समयसम्म सडक सञ्जालले नछोएको महाकुलुङ क्षेत्रलाई हाल कच्ची सडकले छोएको छ ।
कुलुङ जातिभित्रै विभिन्न भाषिका छ । जसरी अरु समुदायमा आफ्नै जातिभित्र विवाह गर्नका लागि थर र उपथर हुन्छ । कुलुङ जातिमा पनि आप्mनै कुलुङ जातिभित्र विभिन्न थर उपथरहरु छन् । त्यसैले उनीहरु कुलुङ–कुलुङबीचमै विवाह गर्छन् । बाहिरियाहरुले स्थानीय कुलुङ बूढापाकासँग कुराकानी हुँदा अभैm पनि उनीहरुलाई दोभाषे चाहिन्छ । अर्थात् गैर आदिवासी र अन्य जातका मान्छेहरुसँग कुलुङ बूढापाकाहरु खस (नेपाली) भाषामा दोहोरो सम्वाद गर्न सक्दैनन् ।
समाजशास्त्रीय भाषामा “इन्डोग्यामस” (एकल जातीय बस्ती) पनि भनिने कुलुङ जातिको मात्रै एकल जातीय बसोबास कसरी सम्भव भयो, महाकुलुङ क्षेत्रमा ? नेपालका नृवंशशास्त्री, जातिशास्त्री, मानवशास्त्री, समाजशास्त्री, भाषाशास्त्री, संस्कृतिविदलगायत अन्य खोज–अनुसन्धानकर्ताहरुका लागि एक नयाँ खोज–अनुसन्धानको विषय हुन सक्छ । त्यसो त मानव सभ्यता ढुंगे युग, शिकारी युग, कृषि युग हुँदै मेसिन अर्थात् औद्योगिक युगमा आएको हो । अझ भएन, सुपर सोनिक–हाईपर सोनिक युगको जमाना हो भन्ने गरिन्छ, आजभोलिको युगलाई ।
सुन्ने मान्छेहरुलाई (खासगरी छुत–अछूत मान्ने समाजमा हुर्के/बढेकालाई) अचम्म लाग्ने विषय के हो भने, केही समय अघिसम्म कुलुङ समुदायका मान्छेहरु आफैंले आफ्नो समुदायलाई चाहिने विभिन्न कृषिजन्य घरायसी माल सामानहरु बनाउने गर्थे । शिकार खेल्न चाहिने बन्दुक, भाला, खुकुरी, बेथो आदि आफैंले बनाउँथे । खेतीपातीका लागि चाहिने कोदालो, फाली, करुवा, काँजोलगायत घरायसी प्रयोगका लागि चाहिने भाँडाकुँडा कुलुङ समुदायभित्रकै विभिन्न थर–उपथरकाहरुले नै बनाउँथे । यस्तो काम कुलुङ जातिभित्रैका गोक्तूलू, मोरोखू, वारोखू, गेब्दूलू आदि थरकाले त्यस्ता सामग्रीहरु बनाउने गर्थे ।
तर, कुलुङ जातिमा त्यस्तो कामकै आधारमा छोईछिटो हाल्ने, छुवाछूत गर्ने र ‘तँ पानी अचल !’ भनी…प्रचलन थिएन । यो पंक्तिकारसँगको भेटमा गुदेल गाविसको चोचोलू–चाचालूङ बसेका (पछि बूङमा बसाई सरेरका) रामकाजी सेन्च्युरी (बिक) ले चाचालूङ गाउँमा एक मोरोखु थर (थरलाई कुलुङ जातिले पाछा भन्ने गर्छन्) का मान्छेले थाल र बटुका बनाएको आफैंले देखेको बताए । साथै उनी आपूmले फलाम, तामा, पित्तल आदि कुट्दा पाता अड्याउन राखिने (कुलुङ भाषामा लिङ÷लिङ्खो÷लिक्खो) पनि चाचालुङमा देखेको बताउँछन् ।
त्यसैले हुँगा उपत्यकामा रहेका छेस्खाम, छेम्सी, छेक्मा, बूङ, खार्दो, गूदेल, तूमोउ, मामेर्कू, चोचोलू, पिल्मो–पेल्माङ, सत्तो (सोताङ), पावै आदि गाउँलाई समेटेर ‘महाकुलुङ हेरिटेज ट्रेल’ बनाउनुपर्ने आवश्यक्ता देखिन्छ । त्यसभन्दा पहिले ‘महाकुलुङ राष्ट्रि निकुञ्ज’ कै लागि हामीले सक्दो पहल गर्नुपर्ने देखिन्छ । त्यसका लागि कुलुङ समुदायका मानिसहरु जुनसुकै राजनीतिक दलमा लागेका भए तापनि सबै मिलेर ‘महाकुलुङ हेरिटेज ट्रेल’ बनाउनका लागि अघि बढ्नुपर्ने देखिन्छ ।
त्यसैले स्थानीयस्तरका कुलुङ समुदायका अगुवाहरु जो विभिन्न राजनीतिक दलमा लागेका छन्, उनीहरुले आप्mनो दल र नेताको स्वार्थ नहेरी एकजुट भएर लाग्नुपर्ने देखिन्छ । त्यसपछि कुलुङ समुदायका बुद्धीजीवीहरु, कुलुङ समुदायका सामाजिक अभियन्ताहरु, अगुवाहरु, विद्यार्थीहरु, युवाहरु लागि पर्नुपर्ने देखिन्छ ।
–निनाम लोवात्ती
[email protected]
टिप्पणीहरू