भूकम्पको उद्धारमा जुट्न माधव नेपालको निर्देश, बहुमतद्वारा दुःख व्यक्त

भूकम्पको उद्धारमा जुट्न माधव नेपालको निर्देश, बहुमतद्वारा दुःख व्यक्त

गएराति गएको भूकम्पमा परेर ज्यान गुमाएका डोटीका पीडित परिवारप्रति विभिन्न राजनीतिक दल र तिनका नेताले दुःख व्यक्त गरेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हिजोको भूकम्पमा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

उहाँले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । भूकम्पबाट प्रभावितहरुलाई तत्काल राहत उपलब्ध गराउन तीन वटै सरकारलाई आह्वान गर्दै अध्यक्ष नेपालले मानवीय सहायता र उद्धारमा खटिन आफ्ना नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी बहुमतले पनि भूकम्पमा ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेको छ । पार्टीले डोटीको पूर्वीचौकी गाउँपालिका–३, गैरीगाउँमा भूकम्पबाट छ जनाको निधन भएको खबरले दुःखी बनाएको उल्लेख गरेको छ । त्यसैगरी घाइतेहरुको स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।

बहुमत पार्टीले जाडो मौसममा भूकम्पले घर भत्काएपछि आगो तापेर रात कटाउन विवश पीडित परिवारलाई तत्काल बसोबासको व्यवस्था र खाद्यान्न उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ ।

आज बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्रबिन्दु भएर ६.६ रेक्टरस्केलको भूकम्प जाँदा छ जनाको निधन भएको हो ।

टिप्पणीहरू