बैंकविरोधी आन्दोलन विराटनगर पुग्यो
बैंक तथा वित्तीय संस्थाहरुले एकाएक बढाएको ब्याजदरको विरोधमा आज विराटनगरका उद्योगी,व्यवसायीहरुले प्रदर्शन गरेका छन् । मोरङ व्यापार संघ,नेपाल उद्योग परिसंघ (मोरङ),उद्योग संगठन मोरङको संयुक्त आयोजनामा ‘बृहत मौन जुलुस’ निकालिएको हो ।
व्यापार संघको प्राङ्गणबाट निस्किएको जुलुसले नगर परिक्रमा गरेको थियो । चर्को ब्याजदर तथा प्रतिकूल बैकिङ नीतिविरुध्द सरकार र सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउन जुलुस निकालिएको संघले जनाएको छ ।
रातारात धनी बन्न बैंकले दोब्बर ब्याजदर बढाएको उद्योगीहरुले आरोप लगाएका छन् । कोरोनाले थला पारेको व्यवसायलाई बैंकको बढ्दो ब्याजले थप मारमा पारेको उनीहरुको भनाइ छ ।बैंक तथा वित्तीय संस्थाहरु मीटरब्याजीभन्दा चौखण्ड रुपमा प्रस्तुत भएको बताउँदै भने, ‘एक अंकमा ब्याजदर झार्नैपर्छ ।’ प्रदर्शनकारीहरुले ‘बैंक ब्याज साह्रो भो,गरिखान गाह्रो भो’, ‘बैंकिङ क्षेत्र नाफामा,उद्योग व्यवसायी संकटमा’ भन्ने नारा लगाएका थिए ।
ब्याजदर घटाउन १५ दिनको अल्टिमेटम दिइएको छ । उक्त अवधिमा पनि ब्याजदर नघटाइएमा देशभरका उद्योगी व्यवसायी सडकमा ओर्लिने चेतावनी दिइएको छ ।
टिप्पणीहरू