बारा ४ मा दुई पूर्वमन्त्रीबीचको प्रतिस्पर्धा रोचक बन्दै
आगामी मंसिर ४ गते हुने चुनावको मिति नजिकिँदै गर्दा अन्यत्र झैँ बारा जिल्लामा पनि चुनावी अभियानले तीब्रता लिएको छ । राजनीतिक दलका नेता, कार्यकर्ता तथा सर्वसाधारणले चुनावी प्रतिस्पर्धाको आकलन गर्न थालेका छन् ।
बाराको निर्वाचन क्षेत्र नम्बर ४ मा दुईजना पूर्वमन्त्रीहरू चुनावी मैदानमा उत्रिएका छन् । सतारूढ गठबन्धन र नेकपा एमाले–जनता समाजवादी पार्टी (जसपा) गठबन्धन दुबैले पूर्वमन्त्रीलाई उम्मेदवार बनाएकाले प्रतिस्पर्धा रोचक बन्दै गएको बताइन्छ ।
सतारूढ गठबन्धनको तर्फबाट पूर्वश्रममन्त्री किसान श्रेष्ठ र एमाले–जसपा गठबन्धनबाट पूर्वखेलकुदमन्त्री एकवाल मियाँ उम्मेदवार छन् । मियाँ यसअघि क्षेत्र नम्बर ४ बाट राष्ट्रिय जनता पार्टीको तर्फबाट निर्वाचित भएका थिए । तर उनी अहिले एमाले प्रवेश गरेर सोही पार्टीको उम्मेदवार बनेका हुन् ।
पूर्वमन्त्री श्रेष्ठ भने २०७४ मा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । त्यतिबेला उनले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका थिए । यो क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को समेत साथ रहेकाले श्रेष्ठलाई मियाँभन्दा बलियो उम्मेदवारको रुपमा हेरिएको स्थानीय मतदाताले बताएका छन् ।
अर्का नेता जितेन्द्र सोनल सोही क्षेत्रको ‘ख’ बाट प्रदेश सभा सदस्यको निर्वाचनमा उम्मेदवार छन् । सोनलको राजनीतिक प्रभाव उक्त क्षेत्रमा राम्रो रहेको स्थानीयको भनाइ छ । उनी यसअघि पनि सोही क्षेत्रबाट लोसपाको उम्मेदवारको रुपमा निर्वाचित भएका हुन् । अहिले पनि उम्मेदवार रहेकाले सतारूढ गठबन्धनका श्रेष्ठलाई लोसपाको मत जाने भएकाले उनलाई तुलनात्मक रुपमा बलियो मानिएको हो ।
यसैगरी स्वतन्त्र उम्मेदवारहरुमध्ये इच्छाबहादुर वाग्ले पनि प्रभावशाली नै देखिन्छन् । त्यसैले निर्वाचनमा श्रेष्ठ, मियाँ र वाग्लेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गर्नेहरु पनि छन् ।
उक्त निर्वाचन क्षेत्रमा पुरुष ५८ हजार एक सय ५२, महिला ४७ हजार आठ सय १२ र अन्य १६ गरी कुल एक लाख पाँच हजार नौ सय ७० मतदाता छन् । त्यसका लागि ६१ मतदानस्थलमा एक सय ३३ मतदान केन्द्रको व्यवस्था गरिएको छ । उम्मेदवारहरुमध्ये राजनीतिक दलबाट १० र स्वतन्त्र १० गरी २० जना चुुनावी मैदानमा छन् ।
प्रदेशसभातर्फ (क) मा पुरुष २७ हजार एक सय ८३, महिला २३ हजार तीन सय ६० गरी कुल ५० हजार पाँच सय ३३ मतदाता छन् । उम्मेदवारहरुमा राजनीतिक दलबाट नौ, स्वतन्त्र चार गरी १३ जना चुुनावी प्रतिस्पर्धामा भीडेका छन् । तीमध्ये एमालेबाट देवनारायण थारू र नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने अवस्था देखिएको छ ।
यसैगरी प्रदेशसभा (ख) मा पुरुष ३० हजार नौ सय ७९, महिला २४ हजार चार सय ५२ र अन्य ६ गरी कुल ५५ हजार चार सय ३७ मतदाता छन् । सो क्षेत्रमा लोकतान्त्रिक समाजवादीका जितेन्द्र सुनार सोनल र जसपाका आत्मारामप्रसाद साहबीच प्रतिस्पर्धा हुने निश्चित छ । सोनल विगतमा प्रदेश सरकारमा मन्त्री समेत रहेकाले उनको अवस्था सुदृढ रहेको ठान्नु स्वाभाविक हो ।
टिप्पणीहरू