सरकार ढलेपछि केपी ओली तिलमिलाउनु भएकाे माधव नेपालको आरोप

सरकार ढलेपछि केपी ओली तिलमिलाउनु भएकाे माधव नेपालको आरोप

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेतृत्वको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले उनी बर्बराउँदै हिँडेको आरोप लगाउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफूलाई कसैले टक्कर दिन नसक्ने सोचमा मग्न रहेको बेलामा दिइएको टक्करले बहुमतको सरकार ढलेको दाबी गर्नुभयो ।

सरकार ढलेपछि ओलीले उट्पट्याङ कुरा गरेको उहाँको भनाइ छ । ‘केपी ओलीलाई कसैले सरकार ढाल्नै सक्दैन भन्ने लागेको थियो, तर ढालियो । टक्कर दिनै सक्दैनन् भन्ने लाग्यो, हामीले टक्कर दियौँ । टक्कर दिएपछि अहिले तपाईंहरुले देखिरहनुभएको कि उनी के के बोल्दै हिँडेका छन्,’ उहाँले भन्नुभयो ।

अध्यक्ष नेपालले अरुलाई अपमान गरेर आफूलाई सर्वश्रेष्ठ ठान्ने ओली प्रवृत्ति हावी भएपछि आफूले विद्रोह गर्नुपरेकोे जिकिर गर्नुभयो । एमालेले अहिलेको निर्वाचनमा पैसाको खोलो बगाइरहेको आरोप लगाउँदै उहाँले भन्नुभयो, ‘एमालेको आम्दानीको स्रोत भनेको भ्रष्टाचार र लुटको सम्पत्ति हो ।’

उहाँले आज आफ्नो पार्टीको सरकार बनेपछि वृद्धभत्ता ५ हजार पु¥याउने आश्वासन दिनुभएको छ । सत्ता गठबन्धन सरकारले सुकुम्बासी समस्याको समाधान गर्दै ६० हजार परिवारलाई जग्गा बाँड्ने काम भइरहेको दाबी गर्नुभयो ।

टिप्पणीहरू