मुलुकभर झण्डै डेढ सय अस्थायी मतदान केन्द्र, समानुपातिक मतमात्रै खसाल्न पाइने
निर्वाचन आयोगले समानुपातिक निर्वाचनमा मतदान गर्ने अस्थायी मतदाताका लागि मतदान केन्द्र तोकेको छ । ७७ जिल्लामा १४१ वटा अस्थायी मतदान केन्द्र स्वीकृत गरिएको छ ।
आयोगले आगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिकमा मतदान गर्ने अस्थायी मतदाताका लागि ती मतदान केन्द्र कायम गरिएको जानकारी दिइएको छ ।
अस्थायी मतदाता नामावलीमा नाम भएका तर मतदान केन्द्रमा नखटिने कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन कसुरमा सजाय पाएका बाहेक अन्य कैदी बन्दीलगायतले मतदान गर्न ती अस्थायी मतदान केन्द्र कायम गरिएको हो ।
आयोगले मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरूलाई खटिएकै केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाएको जानकारी दिएको छ । अस्थायी मतदाता हुनको लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने कानूनी व्यवस्था छ । सोही अनुसार व्यवस्था मिलाएर मतदानको सुनिश्चितता गरिएको आयोगको भनाइ छ ।
२०७२ सालमा जारी भएको संविधानपछि अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था पहिलो पटक कार्यान्वयनमा आएको हो ।




टिप्पणीहरू