गोप्य टोलीले निकाल्यो चुनावी जित–हारको यस्तो हिसाब

गोप्य टोलीले निकाल्यो चुनावी जित–हारको यस्तो हिसाब

अरुका हकमा मत सर्वेक्षणजस्ता निर्वाचन परिणाम प्रभावित हुने गतिविधिमा रोक लगाएको निर्वाचन आयोगभित्रै आयुक्तका बीच आगामी परिणामबारे विभिन्न कोणबाट चर्चा–परिचर्चा हुने गरेको छ ।

देशभरि निर्वाचनसँग सम्बन्धित गतिविधिको सूक्ष्म अध्ययन र जनमतको पूर्वानुमान गरी नतिजा विश्लेषणनिम्ति सेना, प्रहरी र गुप्तचरको डिआइजी तहका हाकिम संलग्न एउटा बेग्लै र गोप्य टोली अस्ति २० गतेदेखि आयोगमा क्रियाशील छ । एकजना उच्चपदस्थ कर्मचारीले जनआस्थालाई बताएअनुसार, यसचोटिको निर्वाचनबाट वामपन्थीहरूको ०७४ मा प्राप्त जनमत घटेर त्यसको ठाउँमा नेपाली कांग्रेस अगाडि आउने देखिन्छ ।

०७४ मा वामपन्थीलाई प्राप्त भोट ६३ देखि ६५ प्रतिशत थियो । अहिले घटेर ६०/६२ पुग्ने सम्भावना छ । विभाजनको असर या अरु शक्ति जन्मिएको कारण त्यस्तो प्रक्षेपण गरिएको हो । अर्थात्, कम्युनिष्टहरूको कलहका कारण १०–१२ लाख भोट घट्ने अनुमान छ । उनीहरूका अनुसार, प्रत्यक्षतर्फको सीट संख्यामा ६१ बाट घटेर ५० प्रतिशत पुग्न पनि मुश्किल छ । यसरी चुनावपछि सबै वाम एक भए भने पनि संसदमा बहुमत पुग्ने देखिँदैन । एमाले दोस्रो र माओवादी तेस्रो हुने पक्का छ । चौथोमा जसपाको सम्भावना छ । नेमकिपा र जनमोर्चाले तीन प्रतिशतको थ्रेस होल्ड कटाउने सम्भावना छैन ।

उनीहरूले प्रत्यक्षतर्फ ९–१० सिट जिते पनि एकीकृत समाजवादीलाई थ्रेस होल्ड कटाउन मुश्किल देखिरहेका छन् । राप्रपाले तीन प्रतिशत कटाउन सक्छ । कांग्रेस उम्मेदवारी दिएका ९२ मध्ये ६०÷६२ सीट जित्नेतिर हिँड्दै छ । समानुपातिकबाट ४०–४२ गरी सय हाराहारीमा कुल सिट ल्याउने अनुमान छ ।

मतदाता बढे पनि तिनको मतदाताको प्रवृत्ति पुरानै छ । कर्मचारी, कैदी, बन्दीले समानुपातिकमा मतदान गर्न पाउने भएपछि ४–५ लाख मत कांग्रेस–एमालेले थप्ने स्थिति रहन्छ । थ्रेसहोल्ड कटेपछि १ लाख १२ हजारदेखि १६ हजारमा एक सीट आउने हो । एमालेले समानुपातिकबाट ४२–४५ सीट ल्याउने निर्वाचन आयुक्तहरूको अनुमान छ । माओवादीको प्रत्यक्षतर्फ करिब २५ पुग्ने देखिन्छ ।

शहरी जनमत माओवादीअनुकूल छैन । काठमाडौंमा एमालेले जितिहालिन्छ भन्ने ढुक्क भएका जम्मा दुई ठाउँ हुन्, क्षेत्र नं. २ र ९ । त्यहीं माओवादीले उम्मेदवारी पाएको छ । मुख्य नेतामा प्रचण्ड, शेरबहादुर देउवा, माधव नेपाल, केपी ओलीले जित्ने निश्चितझैँ छ । तर, इलामबाट झलनाथ खनाल र सुवास नेम्वाङ दुवै खतरामा छन् । ताप्लेजुङमा योगेश भट्टराईको सम्भावना छ । जनमोर्चालाई बाग्लुङमा जित्न सजिलो छ । कांग्रेसको भोट माओवादी र जनमोर्चालाई जान गाह्रो छ । गठबन्धनको ३० प्रतिशत मत राम्ररी ट्रान्सफर नहुने अनुमान लगाइएको छ ।

प्रत्यक्षमा स्वतन्त्रलाई हालेको भोट समानुपातिक प्रणालीमा सहभागीे दलतिर गए पनि कांग्रेस, एमाले, माओवादी, राप्रपाजस्ता पार्टीले पाउने सम्भावना छैन । हाम्रो नेपाली पार्टी, स्वतन्त्र पार्टीजस्ता नयाँ–नयाँ जन्मिएका पार्टीमध्येले त्यस्तो भोट तान्ने अवस्था छ । जस्तो कि, रवि लामिछानेको स्वतन्त्र पार्टीले प्रदेशतर्फ उम्मेदवारी दिएको छैन । उसलाई भोट हाल्ने मान्छेले प्रदेशमा जोसँग तालमेल छ, उसैलाई हाल्छन् । नेपाल आमा पार्टी, लौरो अभियानहरूमा पनि भोट जान सक्छ ।

यसचोटिको निर्वाचनमा राम्रो पक्ष भनेको मत बदरको खतरा कम हुनु हो । किनभने, निर्वाचन आयोगले जहाँ जुन दलका उम्मेदवार छैनन्, त्यहाँ ती दलका चुनाव चिह्न समावेश नगरी सानो मतपत्र तयार पारेको छ ।

टिप्पणीहरू