ऐनलाई अन्तर्घातको डर, भानुलाई मत ट्रान्सफर नहुने पीर

ऐनलाई अन्तर्घातको डर, भानुलाई मत ट्रान्सफर नहुने पीर

आमनिर्वाचनको मिति नजिकिँदै गर्दा बझाङ जिल्लामा चुनावी सरगर्मी बढिरहेको छ । सत्ता गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने ठानिएको प्रतिनिधि सभाको निर्वाचनमा दुवै पक्षका उम्मेदवारलाई एकै खालको शंकाले घेरेको छ । नेकपा समाजवादीका भानुभक्त जोशीमा गठबन्धन आबद्ध दलको मत आफूलाई ट्रान्सफर हुँदैन कि भन्ने चिन्ता देखिन्छ भने उनका प्रतिस्पर्धी ऐन महरलाई आफ्नै पार्टीभित्रबाट हुन सक्ने अन्तर्घातको पिरलो छ ।

ऐन महरले टिकट पाएपछि निर्वतमान प्रतिनिधि सभा सदस्यद्वय भैरवबहादुर सिंह र आशा बिक रुष्ट रहेको स्रोतको दाबी छ । उम्मेदवार सिफारिस गर्ने क्रममा जिल्ला कमिटीबाट आफ्नो नामै सिफारिस गर्नबाट महरले वञ्चित गरेको उनीहरूको आरोप छ । जिल्ला कमिटीबाट महरसहित जुना जाग्री र महेश भट्टराईको नाम गएको थियो । आफूहरूलाई महरले पाखा लगाउन खोजेको भन्दै उनीहरूले लेखराज भट्ट र कर्ण थापासँग रोइकराइ गरेपछि प्रदेश कमिटीले नाम थपेर केन्द्रीय कमिटीलाई सिफारिस गरेको थियो ।

जिल्ला अधिवेशनदेखि नै आफूहरूलाई महरले अपमानजनक व्यवहार गरेको र टिकट सिफारिस गर्ने क्रममा पनि पेलेको भन्दै ऐनले जितेमा आफ्नो राजनीति सकिने बुझाइ यी दुई नेतामा रहेको श्रोत बताउँछ । ‘हुन त उहाँहरू प्रचारमा हिँडिरहनुभएको छ तर भित्री मनसाय ऐनले नजितोस् भन्ने छ’, श्रोतले भन्यो, ‘जिल्ला अधिवेशन र टिकट वितरणमा महरले गरेको व्यवहारले उनले जितेमा हाम्रो राजनीति सकिन्छ भन्ने डर दुबै जनामा देखिन्छ’ महरले एकलौटी गर्न खोजेको भन्दै पार्टीको केन्द्रीय निर्वाचन आयोगमा सिंह र बिकले उजुर गरेपछि बझाङ एमालेको भदौमा भएको अधिवेशनले गरेका निर्णय अमान्य भएका थिए । निर्वाचन आयोगले फेरि अधिवेशन गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।

सिंह र बिकले महरलाई असहयोग गर्नुको अर्काे कारण स्थानीय तहमा अन्तर्घात गरेका एमाले पार्टी सचिव सुरतबहादुर सिंह, खप्तडछान्ना गाउँपालिका कमिटी अध्यक्ष कलक खत्री, विद्यार्थी नेता पंकज भण्डारीलगायतलाई महरले काखी च्याप्नु पनि भएको अर्काे स्रोतले बतायो ।

जयपृथ्वी नगरपालिकामा मेयरको उम्मेदवार रहेका सिंहले आफ्नै वडामा पार्टीको उम्मेदवारलाई हराएर स्वतन्त्रलाई जिताउन खुलेका थिए । खत्री र भण्डारी पालिका अध्यक्षका उम्मेदवार लोकेन्द्र सिंहलाई हराउन अभियान चलाएको उनले बताए । ‘कारबाही गर्नुपर्ने मान्छेलाई संरक्षण गरेर पार्टीभित्र अराजकता ग¥यो भनी उहाँहरू रुष्ट हुनुहुन्छ’ श्रोत भन्छ ।

यता, गठबन्धनका उम्मेदवार भानुभक्त जोशी पनि अन्य दलको मत आफूलाई आउँदैन कि भनेर चिन्तित छन् । गठबन्धनभित्र सबैभन्दा कम मत भएको पार्टीलाई टिकट दिएको भनेर नेपाली कांग्रेसका नेता शुरुदेखि नै रुष्ट देखिन्छन् । खास गरी प्रतिनिधि सभा सदस्य पदको लागि उम्मेदवारको आकांक्षी रहेका पूर्वराज्यमन्त्रीद्वय अर्जुनबहादुर सिंह र नरेशसिंह बढी रुष्ट रहेको कांग्रेसका कार्यकर्ता बताउँछन् ।

यो विषयमा पार्टी सभापति खड्क बोहराले विज्ञप्ति नै निकालेर समाजवादीसँग प्रतिस्पर्धा गर्ने बताएका थिए । गठबन्धन नमान्दा यसको असर देशैभरि पर्ने भनेर कांग्रेस केन्द्रीय नेतृत्वले दबाब दिएपछि जिल्ला नेतृत्व यसो गर्नबाट पछि हटेको थियो । अहिले कांग्रेसका असन्तुष्ट नेताहरू खुलेर प्रचारमा नलागेको र आफ्ना समर्थकलाई जसलाई भोट दिए पनि उस्तै हो भन्ने गरेको समाजवादीकै नेता बताउँछन् ।

‘काङग्रेसबाट सहयोग भएन भने हामीले हार्ने सम्भावना छ’ समाजवादीका एक नेताले भने ‘आफ्नै पार्टीका नेतालाई पनि अन्तर्घात गरेर हराउने कांग्रेसीको कुनै भरोसा छैन’, उनले विपक्षको प्रलोभनमा परेर कांग्रेसका नेताहरूले घात गर्न सक्ने भन्दै उम्मेदवार जोशीले उनीहरूलाई फकाउन कसरत गरिरहेको बताए ।

गत स्थानीय तह निर्वाचनमा प्राप्त वडाध्यक्षको मतलाई आधार मान्दा एमालेभन्दा गठबन्धन अगाडि देखिन्छ । स्थानीय निर्वाचनमा नेकपा एमालेले २८ हजार ६११ प्राप्त गरेको थियो । कांग्रेसका वडाध्यक्षले २० हजार १६६, माओवादीले ९ हजार १४५, नेकपा एकीकृत समाजवादीका उम्मेदवारले ७ हजार ६३२ र राप्रपाका उम्मेदवारले जिल्लाभरि १२८ मत पाएका थिए ।

टिप्पणीहरू