राष्ट्रियता चुनावी खपतको विषय मात्रै हो त ?

राष्ट्रियता चुनावी खपतको विषय मात्रै हो त ?

– दर्शन शर्मा

सत्ता गठबन्धनले प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण नाम दिएर सातै प्रदेशमा चुनावी कार्यक्रम ग¥यो । कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति निकै आक्रामक रूपमा प्रस्तुत भए । तुलनात्मक रूपमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा ओलीप्रति नरम नै देखिए । अर्थात देउवाले आफूलाई सन्तुलित रूपमैै प्रस्तुत गरे । सातै प्रदेशमा नेपाल, दाहाल र देउवाको प्रस्तुती एकै प्रकारको रह्यो । देउवाले गठबन्धन गर्नु पर्नाको कारण बताइरहे, दाहाल र नेपाल ओलीलाई गाली गरिरहे । अहिले चुनावी कार्यक्रम हेर्दा, सुन्दा कसले के भन्छन् भन्ने निश्चित जस्तै छ ।

निर्वाचन नजिकिँदै गर्दा दलहरू एक अर्कोप्रति आक्रामक रूपमा प्रस्तुत हुन्छन् । अझ भनौं एकअर्काप्रति गालीगलौजमा उत्रिन्छन् । निर्वाचन आयोगले कात्तिक १७ गतेअगाडि आमसभा, कोणसभा, जुलुस गर्न नपाउने भनेकाले एमालेले त्यसको भोलिपल्ट अभियान शुरु ग¥यो । दार्चुलाबाट सभा शुरु गर्दै अध्यक्ष ओलीले अतिक्रमित भूमि फिर्ता लिने र आफ्नो एक इञ्च जमिन अरुलाई नछाड्ने बताए । उनले भने, ‘राष्ट्रियताको प्रश्नमा आफ्नो एक इञ्च जमिन छाड्ने छैनौं । हामीले संसदबाट नक्सा जारी गरिसकेका छौँ । आज फेरि ग्यारेन्टी गर्न चाहन्छौँ । चुनाव घोषणापत्र जारी गर्दा २० वटा ग्यारेन्टी गरेका छौँ ।’

उनले भने, ‘म मेची किनारको मान्छेले लिम्पियाधुरा, लिपुलेक र कालापानी देखेँ तर शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री हुँदा देख्नुभएन । म मेची बगरको मान्छे महाकालीको पुल देख्छु तर शेरबहादुर देउवा देख्नुहुन्न ।’ ओलीले सभापति देउवा मात्रै हैन कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुप्रति पनि आक्रोश पोखे । अर्थात् बडुलाई अब काठमाडौंमै बस्न आग्रह गरे । जिल्लावासीको समस्या नबुझ्ने भएपछि अब दार्चुला नफर्किए पनि हुने बताए । ओलीले भने, ‘दिलेन्द्र बडुजी उम्मेदवार हुनुहुन्छ कि क्या हो यहाँ । अब यो सभा देखेपछि उहाँले काठमाडौंमै बसे हुन्छ । यता दुःख नगरे हुन्छ । दिलेन्द्रजी तपाईं मन्त्री भएर गर्नु के भयो ? कालापानीको क भन्ने आँट गर्नुभयो ? काठमाडौँ हुँदा दार्चुला सम्झिनुभयो ? भोट चाहिएका बेलाबाहेक उहाँले दार्चुला सम्झिनुहुन्न ।’

ओलीले तिंकर भञ्ज्याङको बाटो निर्माणमा भारतले बेकारको झमेला निकालेको टिप्पणी पनि गरे । उनले सीमाको विषयमा सानो चित्त नगर्न आग्रह गरे । ‘चीनसम्म जाने ७०/७५ किलोमिटर चट्टान हामीले फोड्नुपर्ने छ, तिंकर भञ्ज्याङको लागि भारतले हाम्रो भूभागबाट अनावश्यक ढंगले बाटो बनाएको छ, हामी आफैं बनाउने थियौँ तर भारतले आफूखुशी बनाएर बेकारको झमेला निकाल्यो,’ ओलीले भने, ‘म भारतलाई अहिले पनि भन्न चाहन्छु, नदी वरतिर स¥यो भनेर सीमा सर्ने होइन । पहिले नदी भएको ठाउँमा भारतले बाँध लगाउने होइन । ठूलो भारतको सानो चित्त हुनु हुँदैन । खोलो उता स¥यो कि सीमाना सारिहाल्ने । विशाल भारत छ तर थोरै भए पनि सिमाना सार्छ । यो सुहाउँदैन ।’

ओलीको भाषण प्रधानमन्त्री शेरबहादुर देउवाले पनि राम्रैसँग सुनेका रहेछन् । भोलिपल्टै डडेलधुराबाट राम्रै जवाफ दिए । दार्चुलामा भाषण गरेर गुमेको भूभाग फिर्ता हुन नसक्ने भन्दै ओलीलाई बन्दुक लिएर सीमामा लड्न जान चुनौती दिए । ओलीप्रति लक्ष्य गर्दै भने ‘भाषण गरेर फिर्ता हुने भए काठमाडौंमै भाषण गरे भइहाल्थ्यो नि !’ कूटनैतिक माध्यमबाट मात्र नेपालले गुमेको भूभाग फिर्ता ल्याउनुबाहेक अर्को विकल्प नभएको पनि देउवाले बताए ।

प्रधानमन्त्रीले भने ‘यस्तो संवेदनशील विषयलाई भोट माग्ने माध्यम बनाउनु अनुचित हो । एमालेले दार्चुलाबाट प्रचार अभियान शुरु गर्नुअघि प्रधानमन्त्री देउवाले डडेलधुरामा आयोजित पहिलो चुनावीसभामा एमालेले लिपुलेकलाई चुनावी मुद्दा बनाउन सक्ने सम्भावनाका कारण त्यसो गर्न नहुने बताएका थिए । लगत्तै दोस्रो दिन ओलीले दार्चुलाबाट चुनावी अभियान सुरु गर्दै यसलाई प्रमुख चुनावी मुद्दा बनाएपछि सत्ता र प्रतिपक्ष दुवै नेताबीच लिपुलेकको विषयमा जुहारी चलेको हो ।

ओली र देउवाको सवाल जवाफ सुन्दा त रमाइलै लाग्छ । यसै पनि ओली रमाइलो गर्न माहिर छन् । देउवामा हाँस्यरस कम देखिन्छ । खैर जेहोस्, ओलीले चुनावी भाषणमा मात्रै हैन अन्य भाषणमा पनि मनोरञ्जन दिइरहेकै हुन्छन् । ओलीले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा फेरि प्रचण्ड र नेपाललाई संगीन आरोप लगाए । उनले दाहाल र नेपाललाई संकेत गर्दै नाकाबन्दी र उत्तरी छिमेकी देशसँग सम्झौता गरेपछि आफूलाई प्रधानमन्त्रीबाट हटाउने षड्यन्त्र गरेको आरोप लगाए । चुनावी भाषणमा यस्तो हुनु स्वाभाविक हो भनी चुप लाग्नुहुँदैन ।

स्थानीय तहको निर्वाचनमा समेत राष्ट्रियतालाई मुद्दा बनाउने दलले अहिले संघीय निर्वाचनमा बनाउनु नौलो कुरा भएन । तर यो विषयमा दलहरू किन हलुकोे हुन्छन्, यो बुझिनसक्नु छ । राष्ट्रियता सामान्य खपतको विषय हुँदै हैन । दलहरू यसैलाई खपतको विषय बनाउँछन् । राष्ट्रियताका सवालमा दलहरू निकै कच्चा छन् । सरकारमा हुँदा एउटा र सडकमा हुँदा एउटा कुरा गर्ने उनीहरूको बानी हो । आफूले गरेको सबै ठीक, अरुले गरेको बेठीक भनिरहेका हुन्छन् । दलहरूले एमसीसी, नागरिकता विधेयकलगायत विषयमा देखाएको चरित्रले धेरै कुरा स्पष्ट गरिसकेको छ । राष्ट्रियताका विषयमा दलहरूको नियत बुझ्न अलिक अघि गए पनि धेरै कुरा प्रष्ट हुन्छ । भारतले गरेको नाकाबन्दीका समय दल र नेताहरूको नकाब उत्रिएकै छ । बुद्धिजीवी भनिनेहरूको भूमिका पनि देखिएकै हो । यहाँ बुद्धिजीवीको भन्दा पनि दल र नेताकै कुरा गर्न खोजिएको हो ।

सार्वजनिक कार्यक्रममा भारतको चर्को विरोध गर्ने र राति भारतीय दूतावासमै गएर ज्यूहजुरी गर्ने कतिपय नेताको दैनिकी बनिसकेको छ । राष्ट्रियताका विषयमा एमाले अध्यक्ष ओली पनि चर्को कुरा गर्छन्, अनि प्रधानमन्त्री भएकै बेला मध्यराति बालुवाटारमै रअका प्रमुख सामन्तकुमार गोयलसँग भेट गर्छन् । यो प्रकरण अहिले पनि चर्चामा छ । सरकारी अधिकारीले विदेशीसँग भेट्दा अनिवार्य रूपमा परराष्ट्रका प्रतिनिधि राख्नुपर्ने व्यवस्था छ । तर त्यसको प्रधानमन्त्रीबाटै उल्लंघन भइरहेको छ ।

दलहरूले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । तर, परराष्ट्र नीतिका विषयमा बलियो गरी कुरा गरेकै छैनन् । राष्ट्रियताका विषयमा साझा धारणा बनाउँछौं भन्ने आँट गर्न सकेका छैनन् ।

टिप्पणीहरू