थाइल्याण्डमा सुनिनथाल्यो ‘पिपुल अफ नेपाली ओरिजिन’ को आवाज

थाइल्याण्डमा सुनिनथाल्यो ‘पिपुल अफ नेपाली ओरिजिन’ को आवाज

-जीवन डाँगी, बैंकक

थाइल्याण्ड पुगेका प्रत्येक नेपालीभाषीको आँखामा सपना टल्किरहेको देखिन्छ । स्वादिष्ट सडक–खानादेखि पाँचतारे होटलसम्मै नेपालीहरू भरिभराउ छन् । समुन्द्री तटदेखि टापुसम्मै काम तथा व्यवसाय गर्छन् । त्यहाँको कमाइले परिवारको गुजारा चलाउँछन् । कतिपय साहुजनमा कहलिएका पनि छन् ।

म्यान्मारको मोगोक नगरका नेपालीभाषी २८ वर्षीय प्रकाश कार्की आफूलाई भाग्यमानी ठान्छन् । उनी जहाँ पुग्छन्, नेपाली नै भेट्छन् । बैंककस्थित सुखुम्भिट–२२ को एउटा भारतीय रेष्टुरेन्टमा काम गर्छन्, उनी । बैंककप्रति आभारी छन् । बसाइँ राम्रो छ । उनी ९ वर्षअघि काम खोज्दै थाइल्यान्ड पुगेका हुन् ।

‘उनीहरु इमान्दार छन् । काम भनेपछि हुरुक्कै हुन्छन् । आफ्नै जस्तो ठान्छन् । बिहानदेखि रातिसम्म खटिएर काम गर्छन्, नेपालीभाषीहरु । भारतीय वा थाईभन्दा थोरै पैसामा धेरै जना अटाउँछन्,’ प्रकाशले भने ।उनीहरू छरिएर बसेका छन् । बैंकक, फुकेट, मेसाई, पटाया, चियाङमाई, होहिन र कसोमोईलगायत सहरमा नेपाली वंशजका थाई नेपाली पनि छन् । नेपाली पहिचान खोज्दै भौंतारिन्छन्, थाई नेपालीहरु । उनीहरू नेपाली पहिचानको कागजपत्र माग्दै नेपाली दूतावाससम्म पुग्ने गरेका छन् ।नेपाल सरकारको समयमै ध्यान नपुग्दा लाखौं नेपालीले नेपाली पहिचान गुमाउनु परेको गैरआवासीय नेपाली संघ थाइल्यान्डका उपाध्यक्ष कान्छा गुरुङ ‘गाबो’को गुनासो छ । सरकारले थाई नेपालीहरुलाई तत्काल ‘पिपुल अफ नेपाली ओरिजिन’ (पिएनओ) परिचयपत्र दिनुपर्ने माग उठाएको उनी बताउँछन् ।‘वर्षाैंअघि प्रवासिएका नेपालीहरूले मौलिक कला–संस्कृति जोगाउन ठूलो भूमिका खेलेका छन् । नेपालभन्दा टाढा भए पनि नेपाली भाषा र संस्कार भुलेका छैनन्,’ गाबोले भने, ‘नेपाली पहिचानको कुरा जोडतोडले उठाइरहेका छौँ । थाई नेपाली र बर्मेली नेपालीलाई एनआरएनमार्फत् नेपालसम्म जोडिरहेका छौँ ।’बैंककको सुखुम्भिटमा एउटा मन्दिर छ । मन्दिर वरिपरि थुप्रै नेपालीका घर छन् । उनीहरू नेपाली भाषा र संस्कृतिको उत्थानमा खटिएका छन् । मन्दिरमा दिनहुँ पूजापाठ गर्छन् । यज्ञ–अनुष्ठान, व्रतबन्ध, विवाह, योग, ध्यान साधना, सत्संग, प्रवचन नेपाल र म्याान्मारमा झैँ चलाइरहन्छन् ।

टिप्पणीहरू