यस्तो छ, भूकम्पले तहसनहस पारेको पूर्वीचौकीको पछिल्लो अवस्था
कार्तिक २२ गते राति सवा २ बजे गएको विनाशकारी भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिकामा ठूलो क्षति भएको छ ।
उक्त गाउँपालिकाको वडा नम्बर ३ गैरागाउँका छ जनाले उक्त भूकम्पबाट ज्यान गुमाए भने सात जना घाइते छन् । हालसम्मको प्रारम्भिक तथ्याङ्कअनुसार ४४ घरमा पूर्ण क्षति भएको छ । ती घरका २०९ जना प्रत्यक्ष रुपमा प्रभावित भएका छन् ।

गाउँका अधिकांश घर चर्किएका छन् । कुनै पनि घरमा मानिस बस्न सक्ने अवस्था देखिँैदैन । अहिले भूकम्प प्रभावितलाई त्रिपाल मुनी बस्ने व्यवस्था गरिएको छ । गाउँपालिका, स्थानीय सरकार, नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरीलगायत सरोकारवाला निकायले उद्धार तथा राहतका कामलाई अगाडि बढाएको
बताएका छन् ।
विपत्तिबाट प्रभावितहरुलाई तत्काल सहयोग गर्न तीनै तहका सरकार, विभिन्न सरकारी गैरसरकारी संघ संस्था र व्यक्तिहरुलाई स्थानीय सरकारले अपिल गरेको छ । हाल एकद्वार प्रणालीबाट सहयोग संकलनको कार्य भइरहेको र अत्यावश्यक व्यवस्थापनको कार्य पनि सँगै सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रभावित क्षेत्रको जिल्लास्थित नेपाली सेना, प्रशासन र पत्रकारहरुको संयुक्त अनुगमन टोलीले अवलोकनसँगै पछिल्लो अवस्थाको आँकलन गरेर फर्किएको छ ।
प्रभावितहरुको आधारभूत आवश्यकता खाद्यान्न, लत्ता कपडालगायतको व्यवस्थापन गर्नुपर्ने, प्रभावित क्षेत्रका महिला, बालबालिका, वृद्धवृद्धा, दीर्घरोगीहरुको स्वास्थ्य उपचारको विशेष व्यवस्था गर्नुपर्ने, आवश्यकतानुसार शौचालय र खानेपानी उपलब्ध गराउनुपर्ने, सहयोग रकम वितरण गर्नुपर्ने, पीडितहरुले आफन्त र छिमेकी गुमाएकाले उनीहरुलाई मनोसामाजिक विमर्श कक्षाको व्यवस्थापन तत्काल जरुरी रहेको देखिएको हो ।
चिसो मौसम शुरु भएकाले पूर्णरुपमा क्षति भएका ४४ वटा घरको तत्काल पुनर्निमाण गर्नुपर्ने अवस्था रहेको देखिएको छ ।

मानवीय क्षति
घर भत्किएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जसमा ४० वर्षकी भगवतीदवी बोहरा, उनकी १२ वर्षीया छोरी सिता बोहरा, ८ वर्षीय छोरा हर्क बोहरा छन् । कक्षा ४ मा अध्ययनरत धौली बोहरा बाँच्न सफल भएकी छन् । मृतक भगवतीका श्रीमान दुइ वर्षदेखि भारतमा छन् ।
यसैगरी गैरागाउँका ५० वर्षे प्रेमसिंह बोहरा र उनकी १३ वर्षकी छोरी तुलसी बोहराको पनि मृत्यु भएको छ । उनकी घाइते श्रीमती बिस्नादेवी बोहराको धनगढीमा उपचार भइरहेको छ । बाँचेका छोराहरु बलबहादुर बोहरा र गंगाबोहरा कक्षा १० र ९ मा अध्ययनरत रहेको बताइन्छ ।
टिप्पणीहरू