मन्त्रीकै सामु विदेशमा नेपाली झण्डाको हुर्मत
इजिप्टमा आयोजित जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाली राष्ट्रिय झण्डाको शर्मनाक अपमान गरिएको छ । झण्डाको अपमान अन्ततः मुलुक र मुलुकबासीको पनि घोर बेइज्जत हो ।
इजिप्टको शर्म अल शेख शहरमा जारी सम्मेलनमा नेपालको तर्फबाट महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीलगायत उच्च अधिकारीहरुको सहभागिता थियो । सम्मेलनको क्रममा दक्षिण एसियाली मुलुकहरुको छुट्टै भेला बोलाइएको थियो ।
वान भ्वाइस साउथ एशिया शीर्षकमा डाकिएको मन्त्रीस्तरीय छलफल कार्यक्रममा नेपाली राष्ट्रिय झण्डाको घोर अपमान गरिँदा पनि कसैले चासो देखाएको पाइएन । नेपाली झण्डाको माथिल्लो भागमा अर्ध चन्द्रमा र तल्लो भागमा पूर्ण सूर्य रहन्छ ।

तर त्यहाँ राखिएको झण्डामा माथिल्लो भागमा सूर्य र तल्लो भागमा अर्ध चन्द्र,त्यो पनि उल्टो पारेर राखिएको छ । महिला मन्त्री, केही सचिव र परराष्ट्र मन्त्रालयका सहसचिवहरु उपस्थित उक्त कार्यक्रममा आफ्नो झण्डाको बारेमा कसैले वास्ता गरेको र फेरेर अर्को राख्न लगाएको देखिएन । दक्षिण एशियाली आठ वटा मुलुकका मन्त्रीलगायत वरिष्ठ अधिकारीहरु सम्मिलित उक्त अन्तर्राष्ट्रिय कार्यक्रममा भएको मुलुकको घोर बेइज्जतिको जिम्मा कसले लिने ?
टिप्पणीहरू