गुल्मी २ मा एमालेले गर्यो अचम्मको प्रचारशैली

गुल्मी २ मा एमालेले गर्यो अचम्मको प्रचारशैली

ऋषि भट्टराई

गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ बाट संघीय संसद सदस्यको निर्वाचनमा एमालेका तर्फबाट गोकर्णराज बिष्ट र सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री मैदानमा छन् । अघिल्ला निर्वाचनमा बिष्टको सहयोगी रहेकी झाँक्रीले पार्टी विभाजनपछि प्रतिस्पर्धीका रुपमा बिष्टलाई चुनौती दिएकी हुन् ।

गत स्थानीय तहको चुनावी परिणामको आधारमा नेकपा एकीकृत समाजवादीको मत सो क्षेत्रमा सात सय हाराहारी देखिन्छ । स्थानीय चुनावमा एकाध ठाउँमा बाहेक समाजवादीका उम्मेदवार पनि थिएनन् । तर गठबन्धनको एकमात्र उम्मेदवार रहेका कारण उक्त मतको मात्रै कुनै हिसाब नहुने बताइन्छ ।

चुनावी आभसभा र कार्यक्रममा झाँक्रीलाई बारम्बार टुरिष्ट उम्मेदवारको संज्ञा र आफ्नो प्रतिस्पर्धी भन्नै नसुहाउने खालका हलुका टिप्पणी एमाले उम्मेदवार र उनको प्रचारप्रसार टोलीली गरेको पाइन्छ । झाँक्री र गठबन्धनका जिल्ला नेताहरुले जिल्लामा भएको पछिल्लो भौतिक विकासको फेहरिस्त सुनाउँदै बिष्टले अफवाह फैलाएको बताएका छन् ।

अर्कोतर्फ जिल्लामा आफू निकटकालाई मात्र पार्टिमा च्यापेर बिष्टले एमाले संगठन कमजोर बनाएको आरोप एमालेका केही जिल्ला नेताले लगाएका छन् । यसबीचमा जिल्ला पूगेका पूर्व मुख्यसचिव तथा चीनका लावि पूर्वराजदूत लिलामणि पौड्याल, प्रतिष्ठित कानुन व्यवसायीहरु ओमप्रकाश अर्याल र ललित बस्नेतको टोलीले झाँक्रीलगायत गठबन्धनका उम्मेदवारहरुसँग गरेको भेटघाट र अन्तरक्रियालाई अर्थपूर्ण ठानिएको छ ।

एमालेबाट विद्रोह गरेका प्रदेश कमिटी सदस्य शेषकान्त गौतमले खुलेर झाँक्री र गठबन्धनका उम्मेदवारलाई सघाएको देखिन्छ । सो क्षेत्रमा यसअघिको निर्वाचनलाई विश्लेषण गर्दा नेपाली काँग्रेसको २९ हजार र नेकपा माओवादी केन्द्रको सात हजार बढी भोट सुरक्षित देखिन्छ । त्यो बाहेक गठबन्धनका अन्य दलका केही हजार भोटका कारण पनि चुनावको पूर्वानुमान गर्न थालिएको हो ।

एमाले नेता तथा उम्मेदवारहरुले काँग्रेसी मतदाता भड्काउन मतपत्रमा रुख चिन्ह नै नभएको बताउँदै आएको गठबन्धनमा आवद्ध दलका नेता तथा कार्यकताले बताएका छन् । सूर्यमा भोट हाल्न अनुरोध गर्नुको साटो उनीहरुले मतपत्रमा रुख चिन्ह नभएको विषयलाई जोडतोडका साथ उठाएका हुन् ।

टिप्पणीहरू